प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

रासस

विहीबार, १३ माघ २०७८, १५ : ३७
प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन । 

राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उनले प्रदेशलाई देशका अन्य सात प्रदेशमध्यमा अब्बल बनाउन राजनीतिक दल र नेतृत्वकाबीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गरे ।उनले भने,“लोकतान्त्रिक मूल्य र मान्यतालाई कार्यरुप बनाउँदै नेतृत्वका बीचमा व्यक्तिगत मिठासपूर्ण व्यवहार हुन सके राम्रो सन्देश जानेछ । गण्डकी प्रदेशमा हिजोको परम्परा प्रतिपक्षी दलले निभाउने विश्वास  गरेको छु ।”

सो अवसरमा मुख्यमन्त्री पोखरेलले निर्वाचित सदस्यले संविधानको व्यवस्था अनुसार छ वर्षको कार्यकालमा देश, सरकार र जनताको हितमा काम गर्न आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेकपा (एमाले)का प्रदेश अध्यक्ष नवराज शर्मा र माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ तथा प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले निर्वाचित सदस्यले देश, जनता र राष्ट्रको हितलाई सोचेर काम गर्ने विश्वास व्यक्त गरे।

राष्ट्रियसभाको बुधबार सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशमा महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त, अन्य समूहमा माओवादी केन्द्रका सुरेशकुमार आलेमगर र दलितर्फ माओवादीका भुवनबहादुर सुनार विजयी भएका थिए । विजयी तीनैजना उम्मेदवारलाई मुख्यमन्त्री पोखरेल र निर्वाचन अधिकृत जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले प्रमाणपत्र वितरण तथा माला र खादा लगाएर सम्मान गरेका थिए  । 
 

प्रतिक्रिया दिनुहोस