राष्ट्रियसभा निर्वाचन

प्रदेश १ बाहेकमा मतदान नगर्ने राप्रपाको निर्णय, तर बेनीकी उपमेयर मतदानका लागि पोखरा पुगिन्

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, ०९ : ३९
प्रदेश १ बाहेकमा मतदान नगर्ने राप्रपाको निर्णय, तर बेनीकी उपमेयर मतदानका लागि पोखरा पुगिन्

पोखरा । फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभा सदस्यका लागि गण्डकीमा पनि आज मतदान हुँदैछ । ३ सिटका लागि २० पुसमा नै मनोनयन दर्ता भइसकेको छ ।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र एकीकृत समाजवादी एकातिर छन् भने एमाले अर्कोतिर छ । गण्डकीमा राप्रपाले भने मतदान नगर्ने जनाएको छ । राप्रपाले प्रदेश १ बाहेकमा मतदान नगर्ने निर्णय गरेको थियो । यद्यपि राप्रपाभित्र मतभेद कायम छ ।

दुई उपमेयर जितेको राप्रपाबाट बागलुङका उपमेयरले मतदान नगर्ने भनेका छन् भने बेनीकी उपमेयर मतदानका लागि पोखरा आइसकेकी छिन् । यहाँ ६ जनाको मनोनयन दर्ता भएको छ । गठबन्धनबाट ३ र एमालेका ३ उम्मेदवारले नाम दर्ता गराएका हुन् । गठबन्धनको तर्फबाट महिलामा कांग्रेस नेतृ कमला पन्त, दलितमा भुवन सुनार र खुलामा सुरेश आलेमगरले उम्मेदवारी दिएका छन् ।

एमालेबाट खुलामा पुण्य पौडेल, महिलामा लिला थनेत र दलितमा अर्जुनकुमार सुनामले मनोनयन दर्ता गराएका छन् । दिउँसो ३ बजेसम्म मतदान हुनेछ । गण्डकीमा २ सय २९ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । सांसदको मतभार ४८ छ भने पालिकाका जनप्रतिनिधिको १८ मतभार रहनेछ । जनप्रतिनिधि र सांसदको हिसाव गर्दा गठबन्धनभन्दा एमाले ७ सय ४ मतभारले पछाडी छ ।

२७ सांसद रहेका एमालेको मतभार १ हजार २ सय ९६ हुन्छ । १५ सांसद रहेको कांग्रेससँग ७ सय २०, १२ जना सांसद रहेको माओवादी सँग ५ सय ७६ मतभार छ भने जनमोर्चा र जनता समाजवादीसँग ९६र९६ मतभार छ । स्थानीय तहतर्फ कांग्रेसका ८३ जनप्रतिनिधि छन् । उनीहरुको मतभार १ हजार ४ सय १८ हुन्छ । ६९ जना एमाले जनप्रतिनिधिको मतभार १ हजार २ सय ४२ छ भने १२ जना जनप्रतिनिधि रहेका माओवादीको मतभार २ सय १६ छ । यहाँ जनमोर्चाको ३ जनप्रतिनिधि र राप्रपाका २ जनप्रतिनिधि छन् । मतभार हिसाव गर्दा जनमोर्चाको ५४ र राप्रपाको ३६ हुन्छ ।

समग्रमा एमाले एक्लैसँग २ हजार ५ सय ३८ मतभार छ । कांग्रेससँग २ हजार १ सय ३८, माओवादीसँग ७ सय ९२ मतभार छ । जनमोर्चासँग १ सय ५०, जनता समाजवादीसँग ९६ र राप्रपासँग ३६ मतभार छ । स्वतन्त्र सांसद राजिव गुरुङ गठबन्धन सरकारको मन्त्री छन् । उनले गठबन्धनमै मतदान गर्ने दावी गठबन्धनका नेताको छ । यद्यपी उनले आफ्नो धारणा राखेका छैनन् ।

स्थानीय तह र प्रदेशसभाका सांसदहरु पार्टीबाट निर्वाचित हुने भएकोले फरक पर्ने खालको नतिजा खासै आउँदैन । गण्डकीमा माओवादीबाट निर्वाचित सांसद दिनानाथ शर्मा र खिमबहादुर विक तथा तत्कालीन एमाले ९हाल एकीकृत समाजवादी० बाट निर्वाचित शान्तिकुमारी अधिकारीको अवधि सकिएको छ । सबै जनप्रतिनिधि र सांसदहरु मतदानका लागि पोखरा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस