चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, १२ : ५८
चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

काठमाडौ‌ । काठमाडौं महानगरपालिकाले सार्न मिल्ने खालका आकाशे पुल निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ । आज मात्रै पनि काठमाडौ‌ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दुईओटा आकाशेपुलको एकै पटक शिलान्यास गरे।

काठमाडौ‌ं महानगरपालिका वडा–७ को चावहिलचोक र मित्रपार्कमा यस्ता दुई ओटा पुलको प्रमुख शाक्यले एकै पटक शिलान्यास गरेका हुन् । चावहिल चोकमा ३३ मिटर लम्बाई र २ मिटर चौडाई अनि मित्रपार्कमा १६ मिटर लम्बाई र २ मिटर चौडाइका दुई ओटा पुलको शिलान्यास गर्दै प्रमुख शाक्यले महानगरपालिका क्षेत्रभित्र भिडभाड र दुर्घटना बढी हुने स्थानहरुमा आकाशे पुल निर्माणको अभियानलाई अघि बढाएको जानकारी दिए।

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ट्राफिक जामको समस्या धेरै छ । अझ चावहिल चोकका बाटो फराकिलो भए पनि अत्याधिक जाम हुने ठाउँ हो,’ उनले भने, ‘स्थानीयको माग अनुसार चावहिल चोकमा यस अघि पनि आकाशे पुल निर्माण सम्पन्न भएको छ । त्यो पुल निर्माणपछि अहिले फेरि चक्रपथ ओरोलोतिर थप एउटा पुलको माग भएपछि महानगरपालिकाले आज यो पुलको शिलान्यास गरेको हो ।’

उनले आजै मित्रपार्कमा पनि अर्को पुलको शिलान्यास गरेको जानकारी दिए । ‘चावहिल चोकमा मात्रै हामीले एउटा निर्माण सम्पन्न गरिसक्यौँ, थप एउटाको आज शिलान्यास गर्र्यौ । मित्रपार्कमा पनि आजै एउटा आकाशेपुलको शिलान्यास गरेका छौँ,’उनले भने, ‘जयवागेश्वरीको पुलको काम पनि अघि बढेको छ । यसरी हेर्दा यो क्षेत्रमा मात्रै हामीले चारओटा पुल निर्माण गर्दैछौँ ।’

उनले सडक दुर्घटना कम गर्न र पैदलयात्रीलाई आवतजावतमा सहज हुने भएकाले बढी भिडभाड र दुर्घटना हुने स्थानमा पुल निर्माणको अभियान चलाएको जानकारी दिए ।उनले स्थानीयवासीको सहयोग भयो भने आज शिलान्यास भएका दुई पुल पनि समयमै सम्पन्न हुनेमा आशावादी रहेको जानकारी दिए । ‘यो बाहेक पनि हामीले अन्य स्थानमा आकाशेपुल निर्माणको काम अघि बढाएको छौँ,’ प्रमुख शाक्यले भने ‘माइतीघरमा हामीले निर्माण गरेको पुल अहिले सञ्चालनमा छ । अन्य ठाउँका लागि पनि हामीले ड्रोइङ–डिजाइनको काम गरिरहेका छौँ ।’

वडा–७ का अध्यक्ष शुद्ध डंगोलले चावहिल चोक जतिखेर पनि जाम भइरहने र भीडभाड पनि बढी हुने भएकाले यो स्थानमा आकाशेपुल निर्माण गरेको जानकारी दिए । उनले पनि पुल निर्माणसँगै सडक दुर्घटना कम गर्न र पैदलयात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा लिएको बताए ।
काठमाडौं महानगरपालिका भौतिक पूर्वाधार विभागका प्रमुख राम थापाले ट्राफिक व्यवस्थापनका लागि काठमाडौ‌ महानगरपालिकाले सडक विभागको समेत समन्वयमा आकाशेपुल निर्माणको अभियान अघि बढाएको जानकारी दिए ।अहिले चावहिल र मित्रपार्कमा बन्न लागेका दुई पुलको लागत भ्याटसहित १ करोड ३० लाख ४२ हजार रहेको छ ।’

प्रतिक्रिया दिनुहोस