ओमिक्रोनलाई सामान्य ठान्नु भ्रम : विश्व स्वास्थ्य संगठन

एजेन्सी

बुधबार, ०५ माघ २०७८, १२ : ४९
ओमिक्रोनलाई सामान्य ठान्नु भ्रम : विश्व स्वास्थ्य संगठन

काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड-१९ को नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको बताएका छन् ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ ओमिक्रोनलाई सामान्य भेरियन्ट ठान्नु भ्रम रहेको बताएका हुन् । ओमिक्रोनले कोरोना भाइरसबाट उत्पन्न जोखिम अन्त्य गरेको ठान्नु समेत गलत रहेको उनको भनाइ थियो ।

ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दान गर्न नहुने गेब्रेयससको भनाइ थियो । ‘यो सामान्य रोग हो भन्ने कथ्य भ्रमपूर्ण छ’ उने भने, ‘ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेका छन् भने मृत्यु पनि भएको छ र सामान्य संक्रमणबाटै स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड भएको छ ।’

गेब्रेयससले संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरियन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने चेतावनीसमेत दिएका छन् । विश्व नेतालाई चेतावनी दिँदै उनले भने, ‘संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ-नयाँ भेरियन्ट देखिन सम्भावना रहेको छ र यही कारण निगरानी तथा मूल्याङ्कन गर्न आवश्यक छ ।’

त्यस्तै, गेब्रेयससले पत्रकार सम्मेलनमा ओमिक्रोनका कारण गत हप्तामात्रै विश्वभर एक करोड ८० लाख नयाँ संक्रमित थपिएको पनि बताए । कैयौं मुलुकमा खोप लगाउने मानिसको संख्या कम रहेको भन्दै खोप नलगाएका मानिसहरू गम्भीर संक्रमित र मृत्यु हुने उच्च जोखिममा रहेको पनि उनको भनाइ थियो ।

युरोपका केही मुलुकमा दैनिक कोभिड संक्रमण हालसम्मकै उच्च बिन्दुमा पुगेका बेला गेब्रेयससको पछिल्लो भनाइ आएको हो ।ओमिक्रोन सक्रिय भेरियन्टको रुपमा देखा परेयता युरोपमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबार फ्रान्समा अहिलेसम्मकै धेरै अर्थात् चार लाख ६४ हजार ७६९ जना नयाँ संक्रमित थपिएका छन् । जुन सोमबार थपिएका एक लाख २ हजार १४४ भन्दा झण्डै पाँच गुणाले बढी हो ।

इटलीमासमेत मंगलबार दुई लाख २८ हजार १७९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । जबकि त्यहाँ अघिल्लो दिन ८३ हजार ४०३ जना नयाँ संक्रमित थपिएका थिए ।यता डेनमार्कमा पनि हालसम्मकै धेरै संक्रमित थपिएका छन् । त्यहाँ  मंगलबार ३३ हजार ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस