बेलायतमा कोरोना संक्रमितको संख्या एक महिनायताकै कम

एजेन्सी

आइतबार, ०२ माघ २०७८, ०७ : ४७
बेलायतमा कोरोना संक्रमितको संख्या एक महिनायताकै कम

काठमाडौं । बेलायतमा कोरोना संक्रमित संख्या एक महिनायताकै कम भएको तथ्यांकले देखाएको छ । कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण तीव्र रुपमा फैलिएपछि बेलायतमा महामारीयताकै बढी संक्रमित भएका थिए ।

दुई लाख बीस हजार भन्दा बढी संक्रमित हुँदै आएकोमा अहिले यो संख्या घटेर ८१ हजारमा झरेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा ८१ हजार ७१३ जना नयाँ संक्रमित थपिएका छन् । 

यो संख्या गत वर्ष डिसेम्बर १५ पछिकै सबैभन्दा कम हो । योसंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ५१ लाख ४७ हजार १२० पुगेको छ ।  बेलायतमा नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण तीव्र भएपछि स्वास्थ्य क्षेत्र लगायतका विभिन्न ठाउँमा कर्मचारी अभाव भएपछि सोमबारबाट कोरोना संक्रमण पोजिटिभ भएका मानिसहरुले पाँच दिन आइसोलेशन बसेर पाँचौ र छैटौं दिनको  नेगेटिभ ल्याटरल फ्लो नतिजा आएपछि आइसोलेशनमुक्त हुन सक्नेछन् ।

यद्धपि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने अझै उच्च छ । यहाँ पछिल्लो एकसातामा एक हजार ८४३ जनाको मृत्यु भएको छ । यो संख्या अघिल्लो साताको तुलनामा ४५ प्रतिशत बढी हो । गएको २४ घन्टामा २८७ संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ५ हजार ८९९ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणका कारण गएको २४ घन्टामा दुई हजार ४२३ जना अस्पताल भर्ना भएका छन् । हाल बेलायतका अस्पतालमा १९ हजार ५३९ जनाको उपचार भइरहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’को तथ्यांकमा उल्लेख छ । तेस्तै ७७७ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

यसैगरी बेलायतमा ९०।५ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउनेको संख्या ८३.२ प्रतिशत रहेको छ । बुस्टर अर्थात तेस्रो मात्रा खोप लगाउनेको संख्या पनि ६३ प्रतिशत भन्दा बढी छ ।