अधिकार बाँडफाँडबारे केन्द्र र प्रदेश सरकारबीच विवाद देखियो : मुख्यमन्त्री पोखरेल

सफल खबर संवाददाता

बुधबार, २१ पुस २०७८, १४ : ५२
अधिकार बाँडफाँडबारे केन्द्र र प्रदेश सरकारबीच विवाद देखियो : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले दिएको अधिकार बाँडफाँडको विषयमा केन्द्र सरकार र प्रदेश सरकारबीच विवाद देखिएको बताएका छन् । बुधवार गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको ‘गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका कानुनहरूको जानकारी सम्बन्धी गोष्ठी’ मा बोल्दै मुख्यमन्त्री पोखरेलले केन्द्र सरकार र प्रदेश सरकारले प्रयोग गर्ने अधिकारको सम्बनधमा विवाद देखिएको बताएका हुन् । 

संविधानले दिएको केन्द्र र प्रदेश सरकारको साझा र एकल अधिकारको सम्बन्धमा विवाद देखिने गरेकाले केन्द्र र प्रदेश सरकारले पाउनुपर्ने अधिकारहरूको सम्बन्धमा स्पष्टता गर्न परिमार्जन गरेर अगाडी बढ्नुपर्ने उनले बताए । 

उनले प्रदेश सरकारले कानूनहरु बनाएको भएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको उल्लेख गरे । मुख्यमन्त्री पोखरेलले संघीयताको मुख्य उपलब्धी नै प्रदेश सरकार भएकाले प्रदेश सरकारलाई सक्षम बनाउनुपर्ने बताए । केन्द्र सरकारले केन्द्रमा धेरै र प्रदेश तथा स्थानीय सरकारमा कम बजेट छुट्याउने गरिएको उल्लेख गर्दै उनले वित्तिय संघीयतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

उनले केन्द्र सरकार प्रदेश सरकार र स्थानिय तहप्रति अनुदार भएको टिप्पणी गरे । मुख्यमन्त्री पोखरेलले प्रहरी र कर्मचारी केन्द्र सरकारको मातहतमा रहँदा प्रदेशमा काम गर्न कठिन भएको पनि बताए । 

प्रतिक्रिया दिनुहोस