‘प्रेमगीत–३’को रिलिज मिति अनिश्चितकालका लागि स्थगित

एजेन्सी

मंगलबार, २० पुस २०७८, १५ : ३२
‘प्रेमगीत–३’को रिलिज मिति अनिश्चितकालका लागि स्थगित

काठमाडौं । सन्तोष सेनको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को रिलिज मिति पोष्टपोण्ड गरिएको छ । हिन्दी भाषामा समेत डबिङ गरिएको ‘प्रेमगीत–३’लाई नेपालसँगै भारत र विश्वभर एकसाथ रिलिज गर्ने निर्माणपक्षको तयारी थियो ।

तर, भारतमा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्ट तीब्र रुपमा फैलिन थालेसँगै ‘प्रेमगीत–३’को रिलिज मिति अनिश्चितकालका लागि पोष्टपोण्ड गरिएको निर्माता सेनले जानकारी गराएका छन् ।

निर्देशकसमेत रहेका सेनले कोरोनाको ओमिक्रोन तीब्र रुपमा फैलिन थालेपछि भारतका विभिन्न राज्यहरुमा फिल्म हलहरु बन्द हुन थालेपछि भारतीय बजारका वितरकको सल्लाह बमोजिम फिल्मलाई पोष्टपोन्ड गरिएको बताए ।

उनले भनेका छन्, ‘भारत बजारका वितरक समूहले दिएको सल्लाह–सुझाबलाई मनन गर्दै सिनेमा घरहरु बन्द हुने क्रम बढेको हुनाले नेपाल, भारत अथवा विश्वभरी अलग–अलग मितिमा प्रदर्शन नगरी एक साथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले हामी नअत्तालिकन यो अफ्ठ्यारो परिस्थितिवाई मध्यनजर गर्दै र त्यो गहकिलो प्रस्तावलाई स्विकार गर्दै अनिश्चित कालको लागि प्रदर्शन मिति स्थगित गरेका छौं ।’

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा तयार भएको ‘प्रेमगीत–३’को फागुन १३ गतेलाई प्रदर्शन मिति तय गरिएको थियो । यसअघि पनि २०७६ साल चैत २८ गतेलाई फिल्मको रिलिज मिति तोकिएको थियो । तर, कोरोना महामारीका कारण फिल्म रिलिज हुन सकेन ।

यो फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, जीवन भट्टराई सुजल बस्नेतको मुख्य भूमिका रहेको छ ।करिब दुई सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा प्रस्तुत गरिएको फिल्मलाई स्वर्गीय छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस