ओमिक्रोन फैलिन नदिन सरकारले बढाउदैं सतर्कता

सफल खबर संवाददाता

सोमबार, १९ पुस २०७८, ११ : ३५
ओमिक्रोन फैलिन नदिन सरकारले बढाउदैं सतर्कता

काठमाडौं ।  छिमेकी देश भारत लगायत विभिन्न देशहरूमा कोभिड १९ को नयाँ संस्करण ओमिक्रोनको संक्रमण बढ्न थालेपछि नेपालमा भित्रिन नदिन सरकारले सतर्कता अपनाउन थालेको छ ।

ओमिक्रोनको संक्रमण हवात्तै बढिरहेको दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे,  नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी तथा हङकङबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाईएको छ । अध्यागमन विभागले जारी गरेको विज्ञप्ती अनुसार ति देशबाट आउने यात्रुहरुलाई  २ डिसेम्बरबाट रोकेको जनाएको छ ।

विभागका अनुसार मन्त्रिपरिषदले यो निर्णय गरेपछि ति देशबाट आवागमन गर्ने यात्रुहरुलाई आउनमा प्रतिबन्ध लगाएको हो । तर ति देशबाट नेपाली राहदानीधारी, कूटनीतिक धारण गर्ने विदेशी नागरिक राहदानी  वा नेपालको आवासीय भिसा भएकाहरुलाई भने प्रवेशमा भने अनुमति दिएको छ । उनीहरुको हकमा खोप लगाएको १४ दिन पूरा हुनुपर्ने, पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने समेत जनाएको छ । । त्यस्तै नेपाल प्रवेश गरेपछि १० दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । 

नेपाल प्रवेश गरेसंगै प्रवेश बिन्दुमै अनिवार्य एन्टिजेन परीक्षण गराउनुपर्ने र परिक्षणमा पोजेटिभ देखिएमा उनीहरुलाई सम्बन्धित कुटनितिक नियोगको अधिनमा संस्थागत रुपमा आईसोलेसनमा बस्नुपर्नेछ । नेपालीको हकमा भने १० दिन आइसोलेसनमा बस्नुपर्ने अध्यागमन विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ओमिक्रोन फैलिने जोखिममा रहेका देशहरूको थप पहिचान गर्ने र  अध्यागमन विभागले सोही अनुसार  ट्राभल एडभाइजरी पुनः जारी गर्ने जनाएको छ । त्यस्तै विदेशबाट नेपाल आउने अन्य विदेशीहरूको हकमा भने अध्यागमन विभागले २४ सेप्टेम्बर २०२१ मा जारी गरेको  पूर्व सूचना अनुसार नेपालबाट आउने र प्रस्थान गर्ने यात्रुहरूका लागि जारी गरेको व्यवस्थापन आदेश २०२१ अनुसार हुने उल्लेख छ । विभागले आपतकालीन अवस्थामा बाहेक नेपालीहरुलाई त्यस्ता देशहरूमा नजान समेत आग्रह  गरेको छ।

प्रतिक्रिया दिनुहोस