बागमतीलाई तेक्वान्दो प्रतियोगिताको उपाधि

सफल खबर संवाददाता

शनिबार, १७ पुस २०७८, २० : ५१
बागमतीलाई तेक्वान्दो प्रतियोगिताको उपाधि

काठमाडौं । आयोजक बागमती प्रदेशले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बागमती ६ स्वर्ण, २ रजत र ९ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको लुम्बिनी प्रदेश दोस्रो भयो । तेस्रो स्थानमा चित्त बुझाएको नेपाल आर्मीले ५ स्वर्ण, २ रजत र ७ कांस्य हात पार्‍यो ।

प्रतियोगिताको पुरुषमा लुम्बिनीका सपन थापा तथा महिलामा बागमतीकी स्वस्तिका महर्जन उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, आयोजक बाग्मती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।  दुई दिने प्रतियोगितामा ११ टिमका  ३० खेलाडीले विभिन्न २४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस