नेपालले च्याम्पियनसिपको अन्तिम खेल भोलि युएईसँग खेल्दै

विहीबार, २१ मंसिर २०७४, १६ : ४८
नेपालले च्याम्पियनसिपको अन्तिम खेल भोलि युएईसँग खेल्दै

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भोलि शुक्रबार युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । सातौ चरणको पहिलो खेलमा युएईसँग हार ब्यहोरेको नेपाल अन्तिम खेलमा भने जित हात पार्ने रणनीतिको साथमा मैदानमा उत्रिँदैछ ।

शेख जायद क्रिकेट रंगशालामा नेपाली समयअनुसार ११ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । युएईविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले परािजत भएको थियो । कप्तान पारस खड्काको कप्तानीमा उत्रिएको नेपाली टिममा दुई नियमित खेलाडी दिपेन्द्रसिंह ऐरी र सागर पुन थिएनन् ।

आगमी फेब्रुअरीमा नामिवियामा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिताका लागि तयारीको रुपमा रहेको यो खेलमा नेपालले केही नयाँ अनुहारलाई मैदानमा उतारेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २२१ रन बनाएको थियो । नेपालको मध्यम स्कोरमा शरद भेषवाकर र उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । क्रिजमा टिकेर खेलेका शरदले अविजित रहँदै ८१ रन बनाए । शरदले ९५ बलको सामना गर्दै पाँच चौका प्रहार गरे । त्यस्तै बसन्त रेग्मी १४ रनमा अविजित रहे ।

त्यस्तै, नेपालको लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ८३ बलमा ६ चौकासहित ५४ रन बनाए । त्यसबाहेक नेपालका कप्तान पारस खड्का र सोमपाल कामीले समान २०–२० रन बनाउँदा ओपनर दिलिप नाथ १६ रन बनाएर पेभेलियन फर्किए । यस्तै, नेपालका विनोद भण्डारी ४ तथा आरिफ शेख शून्य रनमा आउट भए । युएईका जाहुर खानले २ तथा अहमेद राजा, मोहमद नाभिद र रोहन मुस्ताफाले समान एक एक विकेट लिए ।

२२२ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको युएईले निर्धारित ओभर सकिन २५ बल बाँकी छदा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । युएईका लागि घुलाम सबिरले नटआउट नटआउट ८१ र कप्तान रोहन मुस्ताफाले ६२ रन बनाएका थिए ।

नामिवियामा हुने डिभिजन टुमा खेल्ने टिमको पनि छिनोफानो भएको छ । आईसीसी विश्व क्रिकेट लिगबाट नेपालसहित युएई, नामिबिया र केन्याले डिभिजन टु खेल्ने भएका छन् । त्यस्तै, ओमन र क्यानाडा रहेका छन् ।

यी ६ वटा टिम मध्ये शीर्ष दुई मा पर्ने टिम विश्वकप छनोटमा प्रवेश गर्नेछन् । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट नेदरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र हङकङ भने विश्वकप छनोटमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस