सेयर बजारमा ७० अंकको गिरावट, दुई कम्पनीमा सकारात्मक सर्किट

सफल खबर संवाददाता

सोमबार, १२ पुस २०७८, १५ : ४०
सेयर बजारमा ७० अंकको गिरावट, दुई कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आइतबारसम्म सुधार भइरहेको नेप्से सोमबार लगभग ७० अंकले ओरालो लागेर २५ सय २१ विन्दुमा थामिएको छ । बजार खुलेको सुरुमै १६ अंकले बढेको बजार पछि भने ओरालो झर्न थालेको हो ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ अंकले झरेर ४ सय ७१ विन्दुमा छ ।बजार लगभग ७० अंकले घट्दा दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । गोरखा फाइनान्स लिमिटेड र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यस दिन बजारमा उपसूचक समूहहरू सबै राताम्मे रहे । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी ६ सय १८ अंकले घट्दा सबैभन्त्दा कम म्यूचल फण्ड ० दशमलव ०१ अंकले घटेको छ ।

सोमबार २ सय ३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २ सय २६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६० करोड ७४ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।