नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम ४ अर्ब ५२ करोड

सफल खबर संवाददाता

बुधबार, ०७ पुस २०७८, १५ : २९
नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम ४ अर्ब ५२ करोड

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार ५७ अंकले उकालो लागेको नेप्से बुधबार पनि ९२ अंकले बढेर २ हजार ५ सय ७ विन्दुमा पुगेको हो । ठूला कम्पनीको बजार परिसूचक सेन्सेटि इन्डेक्स पनि १४ अंकले बढेर ४ सय ७७ विन्दुमा पुगेको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार साढे २ अर्बमा खुम्चिएको कारोबार बुधबार भने साढे ४ अर्बमा पुगेको छ । यस दिन १ सय ८६ कम्पनीको सेयर मूल्य उकालो लाग्दा एउटा स्थीर र दुईवटा ओरालो झरेका छन् ।

यस दिन उपसूचकमा रहेका सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ५ सय २ अंकले उकालो लाग्दा, निर्जीवन बीमा ४ सय ८७, उत्पादन ४ सय ५२, विकास बैंक २ सय ३०, व्यापार २ सय २ अंकले बढेको छ ।

यस दिन अरुण भ्याली हाइड्रोपावर, वरुण हाइड्रोपावर, माथिल्लो तामाकोसी हाइड्रोपावर, शिवम् सिमेन्ट, स्वाभिमान लघुवित्त, सगरमाथा इस्योरेन्स लगायतका कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

२ सय ३३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता सेयर किनबेच हुँदा बुधबार ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँमाको कारोबार भएको छ ।