विद्रोही सम्झेर सुरक्षाकर्मीले मजदुर बोकेको गाडीमा गोली बर्सायो, १३ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १९ मंसिर २०७८, १३ : ५५
विद्रोही सम्झेर सुरक्षाकर्मीले मजदुर बोकेको गाडीमा गोली बर्सायो, १३ जनाको मृत्यु

एजेन्सी । नागाल्याण्डको मोन जिल्लामा सुरक्षा बलको फायरिङमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ । उग्रवादी संगठन एनएससीएनसँग जोडिएको आशङ्कामा सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोली चलाएको बताइएको छ ।

उक्त घटनामा एकजना सिपाहीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । सो घटनामा आफ्नो सिपाहीको मृत्यु भएपछि सेनाले तत्काल छानबिनको आदेश दिएको छ । त्यहाँको राज्य सरकारले घटनालगत्तै अनुसन्धानका लागि उच्चस्तरीय टोलि पठाइसकेको बताएको छ ।

मिडिया रिपोर्टका अनुसार गोप्य सूचनाका आधारमा उग्रवादी संगठनविरुद्ध कारबाहीका लागि सुरक्षाकर्मी तिरु–ओटिङ सडकमा एम्बुसमा बसेका थिए । तर उनीहरूले गाउँलेलाई विद्रोही सम्झेर गोली बर्साए । गोप्य सूचनामा जुन रङ्गको गाडी भनिएको थियो, गाउँलेहरू त्यस्तै रङ्गको गाडीमा सवार भएर आएका थिए । गाडीको रंग एउटै पाएपछि सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोलाबारी सुरु गरेका थिए ।

भारतीय मिडियाका अनुसार मारिने सबै मजदुर थिए । उनीहरू कामपछि एक पिकअप ट्रकको पछाडि बसेर घर फर्किँदै थिए । रातिसम्म घर नपुगेपछि गाउँलेहरूले उनीहरूको खोजी सुरु गरेका थिए । घटनाबारे थाहा पाएपछि आक्रोशित बनेका गाउँलेले सुरक्षाकर्मीको गाडीमा आगजनी गरेका थिए ।

सो घटना शनिबार साँझ म्यानमार सीमा नजिकै भएको आइतबार प्रकाशित भारतीय मिडियामा उल्लेख छ । सुरक्षाकर्मीको गोली लागेर अन्य दुई नागरिक घाइते भएको बताइएको छ । नागाल्याण्डका मुख्यमन्त्री नेइपिउ रियोले आइतबार दुर्भाग्यवश् भएको सो घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । रिपोर्टकाअनुसार आतंकवादी अपरेसनअन्र्तगत सुरक्षाकर्मी सो क्षेत्रमा खटिएका थिए । सो घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले भारतीय मिडियासँग बताएका छन्।

प्रतिक्रिया दिनुहोस