कक्षा १२ को नतिजा सार्वजनिक, यसरी थाहा पाउनुस् नतिजा

सफल खबर संवाददाता

शुक्रबार, १७ मंसिर २०७८, ११ : १६
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी थाहा पाउनुस् नतिजा

काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । 

गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक भएको छ । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।

परीक्षामा सात हजार ३६ जनाले 'ए प्लस' ग्रेड ल्याएका छन् भने 'ए ग्रेड' ल्याउने परीक्षार्थीको संख्या ४८ हजार तीन सय ३९ जना छ। ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । प्रकाशित नतिजाअनुसार सबैभन्दा बढी परीक्षार्थी ‘बी’ ग्रेड ल्याएर पास भएका छन् । बी ग्रेड ल्याउने परीक्षार्थीको संख्या ९९ हजार ५३७ रहेको छ । 

त्यस्तै, ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन् । तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याउँदा ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ । १० हजार ७३ जनाले भने ‘ई’ ग्रेड प्राप्त गरेका छन् । 

 यसरी हेर्नुहाेस् नतिजा

कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov.np  राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ ।

यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस