स्पेनिस ला लिगा : ओसासुना र इल्चेको बराबरी

एजेन्सी

मंगलबार, १४ मंसिर २०७८, ०८ : ५०
स्पेनिस ला लिगा : ओसासुना र इल्चेको बराबरी

काठमाडौँ । स्पेनिस ला लिगाको मध्यम टोली ओसासुनाले रेलिगेसन जोगाउन प्रयासरत इल्चेसँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा ओसासुना इच्लेसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

ओसासुनाका लागि एन्टे बुडिमिरले गोल गरे । इल्चेका फिडेलले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको सातौं मिनेटमै ओसासुनाले पेनाल्टीमार्फत सुरुवाती अग्रता लिएको थियो । डिबक्सभित्र इल्चेका फिडेलले फल गरेपछि प्राप्त पेनाल्टीलाई एन्टेले सदुपयोग गरे ।

त्यसपछि इल्चेले १९औं मिनेटमा बराबरी गोल फर्कायो । फिडेलले टेले मोरेन्टेको कर्नर पासमा हेडगोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए । ५० प्रतिशत बल पोसेसन राखेको दुवै टोलीले दोस्रो हाफमा थप गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाए । ओसासुनाका सर्जियो हेरेरा ‘म्यान अफ दी म्याच’ भए ।

बराबरीसँगै १५ खेलबाट २० अंक बनाएको ओसासुना १०औं स्थानमा छ । समान खेलबाट १२ अंक बनाएको इल्चे १७औं स्थानमा छ । यही बराबरीले इल्चेले रेलिगेसन रेखा छलेको हो । लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १४ खेलबाट ३३ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिड र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको समान २९ अंक छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस