कागज कारखाना संचालन गर्न दिइएको हो, बेचेर प्लटिङ गर्न होइन : मन्त्री यादव

सूर्यप्रकाश कँडेल

शनिबार, १५ बैशाख २०७५, १५ : ५१
कागज कारखाना संचालन गर्न दिइएको हो, बेचेर प्लटिङ गर्न होइन : मन्त्री यादव

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले नवलपुरको गैंडाकोटमा रहेको भृकुटी कागज कारखाना प्लटिङ गरेर बेच्न नभई उद्योग संचालनको लागि सरकारले निजी क्षेत्रलाई दिएको बताउनु भएको छ । भरतपुर महानगरपालिका ४, शिवघाटमा रहेको पूजा कापी उद्योगको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो ।
‘भृकुटी कागज कारखाना संचालनको लागि सरकारले दिएको हो, प्लटिङ गरेर बेच्नको लागि दिएको होइन’ उहाँले कागज उद्योग बन्द भएकोप्रति आक्रोश व्यक्त गर्दै भन्नुभयो, ‘भृकुटी कागज कारखाना संचालनमा ल्याउन हाम्रो कोशिस रहने छ ।’ सरकार, निजी क्षेत्र र जनता मिलेर कागज उद्योग संचालन गरिने उहाँको भनाइ थियो ।
‘एक्लै सरकारले चलाउँदा फेल भयो, एक्लै निजी क्षेत्रले चलाउँदा पनि फेल भयो’ बन्द कागज उद्योगप्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘अब जनतालाई पनि सहभागी गराएर सरकार र निजी क्षेत्र मिलेर कागज कारखाना चलाउनु पर्छ ।’ सरकार, निजी क्षेत्र र जनता मिलेर नयाँ मोडेलमा भृकुटी कागज कारखाना संचालनमा ल्याउनु पर्ने उहाँको धारणा थियो ।


वाम गठबन्धन सरकारको उद्देश्य सुशासन, आर्थिक विकास र देशको समृद्धि रहेको बताउँदै मन्त्री यादवले भन्नुभयो, ‘समृद्ध नेपाल र सुखी जनता भन्ने अभियानमा सरकार लागेको छ । विचार हामीले जे जे बोकेपनि यो अभियानमा हामी सबै सहभागी बनौँ । सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने बताउँदै उहाँले सबै प्रकारका सिण्डिकेटविरुद्ध सरकार रहेको बताउनु भयो ।
‘मन्त्रीको कुर्सीमा बसेपछि घरमा कमिसन आउने परिपाटीको अन्त्य गर्नु परेको छ’ उहाँले भन्नुभयो, ‘भ्रष्टाचारीसँग कुनै किसिमको साँठगाँठ नगर्नु भनी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीले भन्नु भएको छ । कुनै पनि प्रकारको सिण्डिकेट अब हामी चल्न दिँदैनौँ ।’ बहुदल आएपछि राष्ट्रिय उद्योगधन्दा सबै बेचेर खाने परिपाटीले गर्दा राष्ट्रिय अर्थतन्त्र धराशायी बनेको उहाँको भनाइ थियो ।


पूजा कापी उद्योग प्रा. लि. का अध्यक्ष उत्तमप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा निर्देशक सञ्जयकुमार चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो । चौधरीका अनुसार, पूर्णरुपमा स्वचालित यस उद्योगको दैनिक उत्पादन क्षमता ३० टन रहेपनि अहिले तीन टन दैनिक कापी उत्पादन गरिनेछ । ३० जना मिलेर १५ करोड रुपैयाँ लगानीमा उद्योग स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
कापी उत्पादनका लागि चाहिने कागज ८० प्रतिशत विदेशबाट आयात हुने गरेको छ । तयारी कापी समेत ३३ प्रतिशत भारतबाट आयात हुने गरेको छ । स्वदेशी उत्पादनले ६७ प्रतिशतमात्र माग धानेको छ । नेपालमा कापीको वार्षिक माग आठ अर्ब करोड रहेको बताइएको छ ।

यसैबीच, मन्त्री यादवले नवलपुरको गैंडाकोटमा रहेको भृकुटी कागज कारखानाको अवलोकन गर्नु भएको छ । बन्द कारखाना अवलोकनपछि पत्रकारमाझ मन्त्री यादवले कारखानाको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
प्रेस चौतारी नवलपुर र प्रेस सेन्टर नवलपुरले संयुक्तरुपमा कारखाना परिसरमै आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले भन्नुभयो, भृकुटी कागज कारखाना सकेसम्म सम्बन्धित पक्षलाई नै संचालन गर्न दिइने छ । सम्बन्धित पक्षले संचालन गर्न नसकेमा राज्यले जिम्मा लिएर अगाडि बढ्नेछ । कारखाना बन्द गरेर प्लटिङ गर्न पाइँदैन ।
पत्रकार सम्मेलन प्रेस चौतारी नवलपुर शाखा अध्यक्ष हिमालदेव पंगनीको अध्यक्षतामा भएको थियो । मन्त्री यादवलाई कारखानाका मजदुरहरुको तर्फबाट हरिप्रसाद ढकालले समस्याको बारेमा विवरण पेश गर्दै ज्ञापनपत्र बुझाउनु भएको थियो । गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले कारखाना धेरै समयदेखि बन्द रहेको र मजदुरहरुको समस्या पनि समाधान हुन नसकेको भन्दै कारखानालाई राष्ट्रियकरण गरेर सरकारले नै संचालन गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस