८ वर्षमा नेपालबाट निकालिए ३१ सय बढी विदेशी नागरिक

पत्रपत्रिकाबाट

सोमबार, ०६ मंसिर २०७८, ०७ : ५१
८ वर्षमा नेपालबाट निकालिए ३१ सय बढी विदेशी नागरिक

file Photo

काठमाडौं । पछिल्ला आठ वर्षमा विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई सरकारले निष्कासन गरेको छ।

अध्यागमन विभागको तथ्यांकअनुसार सो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ। त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देशमा पठाइएको छ।

त्यसैगरी ८५ रसियाली,५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट निष्कासित भएका छन्। विभिन्न अपराधमा संलग्न भएका, भिसाको म्याद गुज्रिसकेका (ओभरस्टे) र शंकास्पद राहदानी राखेका कारण उनीहरूलाई नेपालबाट निकालिएको अध्यागमन विभागले जनाएको छ।

‘विभिन्न अपराधमा संलग्न हुनेदेखि ओभरस्टेलगायत कसुरमा विदेशीहरू पक्राउ पर्ने गरेका छन्,’ अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालले भने,‘पक्राउपछि त्यस्ता नागरिकलाई सम्बन्धित देशमा बुझाउने सन्धि नगरेको हुँदा देशबाट निकाल्नुको विकल्प छैन। यो वर्ष मात्र भिसा सकिएर नेपालमा बस्ने सयभन्दा बढी विदेशी नागरिकलाई देशनिकाला गरिएको छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस