काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले सञ्चालन गरेको जनयुद्ध कुनै लहडमा नभएको बताएका छन ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा विप्लव समूहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले भने, “कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन । जनयुद्ध कुनै लहड थिएन ।” उनले माओवादी पङ्क्ति एक्लाएक्लै अगाडि जाँदा क्षतविक्षत हुने खतरा पनि औँल्याए ।
अध्यक्ष दाहालले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग निरन्तर छलफल भइरहेको पनि जानकारी दिए । उउनले भने, “किरण (मोहन वैद्य)को अर्को पार्टी बन्यो, चल्ने कुरो भएन । विप्लव (नेत्रविक्रम चन्द) को बन्यो, तपाईंहरु नै भुक्तभोगी बनेर आउनुभएको छ । हुने कुरा थिएन । त्यो त्यति सजिलो कुरा थिएन ।”
ढिलोछिटो विप्लव पनि माओवादी केन्द्रमा आउने विश्वास अध्यक्ष दाहालको थियो । उनले अगाडि थपे, “छुट्टै बसेरभन्दा सँगै बसेर क्रान्ति सम्पन्न हुन्छ । अहिले कुरा पनि चलिरहेको पनि छ । एक्लै प्रयास गर्दा नियत जे भए पनि नियतिले क्षतविक्षत हुनेबाहेक अरु विकल्प छैन ।”
अध्यक्षले एउटै समयमा थुप्रै नेतृत्व जन्मन नसक्ने भन्दै माओवादी आन्दोलन र आफूलाई प्रतिक्रान्तिकारीले सिध्याउन खोजेको बताए । “प्रतिक्रान्तिकारीले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धि उल्ट्याउने अभियानमा लागेको र तारो माओवादी आन्दोलन भएको छ”, उनले भने।
जनता, आन्दोलन, सङ्घर्ष, बलिदानले नेतृत्व पैदा गर्ने भन्दै उनले सही विचार र कार्यक्रम लिएर जनतामा जाँदा माओवादी पुनः एक पटक थप विस्तारित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा चन्द समूहका नेता तथा कार्यकर्तालाई अध्यक्ष दाहाललगायतका नेताले पार्टी प्रवेश गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ कार्तिक २०७८, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग