देशैभर दुई दर्जन उच्च क्षमताका प्रसारण लाइन निर्माण हुँदै

रासस

शुक्रबार, २६ कार्तिक २०७८, १३ : १४
देशैभर दुई दर्जन उच्च क्षमताका प्रसारण लाइन निर्माण हुँदै

काठमाडौँ । बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनलाई वितरण लाइन बनाउने घोषणा गरिसकेकाले उच्च क्षमताका प्रसारण लाइन अत्यावश्यक बन्न पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २३ वटा ४०० केभी क्षमताका प्रसारण लाइन अध्ययनको विभिन्न चरणमा रहेको जानकारी दिएको छ ।
 
नेपाल र भारतबीच विद्युत् आदान प्रदानका लागि अन्तरदेशीय प्रसारण लाइनदेखि देशभित्रै उत्तर दक्षिण करिडोर जोड्ने गरी विभिन्न आयोजना अगाडि बढाइएको छ । त्यस्तै पूर्वदेखि पश्चिमसम्म बिजुली आदान प्रदानका लागि पनि उच्च क्षमताका आयोजना निर्माणका लागि आवश्यक तयारी गरिएको मन्त्रालयको भनाइ छ । मन्त्रालय मातहतको विद्युत् विकास विभागमा ४०० केभी क्षमतामा प्रसारण लाइन निर्माणका लागि परेको आवेदन हेर्दा पनि एउटा सकारात्मक सन्देश दिएको छ । 

प्राधिकरण, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी क्षेत्रले पनि ठूला क्षमताका प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरेका छन् । प्रसारण ग्रीड कम्पनीले इन्डो नेपाल बोर्डर ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणको अध्ययन गरिरहेको छ । कैलालीको नेपाल–भारत सीमा क्षेत्रमा कूल २७ किलोमिटर लामो उक्त प्रसारण लाइन निर्माण हुनेछ । सो प्रसारण लाइनले दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रसारण गर्नेछ । 

 यस्तै अरुण करिडोरमा सोही कम्पनीले ३५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि अध्ययन गरिरहेको छ । सो प्रसारण लाइनले दुई हजार २६० मेगावाट बिजुली प्रसारण गर्नेछ । सरकारी स्वामित्वको सो कम्पनीले भेरी करिडोरमा नलगाड–मैनताडा ७५ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि अध्ययन गरिरहेको छ । सो प्रसारण लाइनले दुई हजार ४०० मेगावाट बिजुली प्रवाह गर्दछ । 

छिन्चुदेखि बुटवलसम्म कूल २१६ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन एससी पावर कम्पनीले अध्ययन गरिरहेको छ । सो प्रसारण लाइनले ८६० मेगावाट बिजुली प्रवाह गर्नेछ । प्राधिकरणले दुधकोशी जलाशयको बिजुली प्रवाहका लागि ९१ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । सो प्रसारण लाइनले ६०० मेगावाट बिजुली प्रवाह गर्नेछ । 

उत्तरी छिमेकी देशसँग नेपालको प्रसारण प्रणाली जोड्ने गरी प्रस्ताव गरिएको ८० किलोमिटर लामो रातमाटे–रसुवागढी ४०० केभी क्षमताको प्रसारण लाइनको अध्ययन अन्तिम चरणमा पुगेको छ । नेपाल र चीनबीच विद्युत् आदान प्रदानका लागि महत्वपूर्ण मानिएको सो प्रसारण लाइनको अध्ययनको काम अन्तिम चरणमा पुगेको सम्बन्धित आयोजनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस