योगेश्वर अमात्यको जग्गा प्रकरण : राष्ट्रबैंकले पनि थाल्यो अनुसन्धान

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १९ : १७
योगेश्वर अमात्यको जग्गा प्रकरण : राष्ट्रबैंकले पनि थाल्यो अनुसन्धान

काठमाडौँ । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ऋण दिएको घटनामा नेपाल राष्ट्र बैंकले पनि कुमारी बैंकमाथि छानविन थालेको छ । राष्ट्र बैंकका प्रवक्ता देव ढकालका अनुसार ऋण प्रवाहको फाइल झिकाएर अनुसन्धान थालेको हो । ढकालले भने, ‘कुमारी बैंकको यो विषयलाई राष्ट्र बैंकले चासोका साथ हेरेको छ । हाम्रो टोलीले सम्बन्धित क्रेडिट फाइलमाथि छानविन गरिरहेको छ । त्यसको आधारमा बैंकले एक्सन लिन्छ ।’ 

यद्यपि एक बैंकका सीईओको दाबीअनुसार, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र कुमारी बैंकका सीईओ तिमिल्सिनाबीच समेत निकटस्थ सम्बन्धका कारण छानविन निष्पक्ष हुनेमा शंका छ । उसो त यसअघि राष्ट्र बैंकका गभर्नर अधिकारीले बैंकहरूमा प्रयाप्त ऋण प्रवाह गर्ने निक्षेपको आधार नहुँदा नहुँदै पनि ग्राहक बोलाएर ऋण दिएको भन्दै असन्तुष्टि जनाएका छन् । 

एकातर्फ बैंकहरूमा लगानीयोग्य रकमको अभाव देखिनु र अर्कोतर्फ मिलोमतोमा बैंकहरूले रकम ऋण दिनुले राष्ट्र बैंकको नियमकीय भूमिकामाथि नै प्रश्न उठ्न सक्छ । राष्ट्र बैंकको प्रावधान अनुसार वाणिज्य बैंकहरूले कर्जा र निक्षेपबीचको अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने हुन्छ । तर, कुमारी बैंकले उक्त प्रवधानलाई लत्याउँदै ९२.१३ प्रतिशत ऋण प्रवाह गरेको छ । 

अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको घटनाका मुख्य अभियुक्त काठमाडौंका कुसन प्रधान रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अमात्यको बारा विश्रामपुरस्थित बिरुवा भूमि वनकाली कम्पनीको नाममा रहेको १२ बिघा जग्गा डायनिल कम्पनीको नाममा रहेको नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएको भन्दै अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस