नेपाल धितोपत्र बोर्डको अध्यक्षमा ११ जनाको आवेदन

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १८ : ०३
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा ११ जनाको आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा ११ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा निरज गिरी, नवराज अधिकारी, गोपाल भट्ट, कृष्णप्रसाद आचार्य, सिताराम थपलिया, चिरन्जीवी चापागाई, अनिल पौडेल, केशवप्रसाद श्रेष्ठ, जीवन अमगाई, अम्बिका शर्मा र रमेश हमाल रहेका छन् ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललेको संयोजकत्वमा गठित सिफारिस समितिले १५ दिनको समय दिएर कात्तिक ११ गते शिलबन्दी आवेदन आह्वान गरेको थियो । समितिका सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र प्राडा नारायण पौडेल छन् । परेका आवेदनमध्येबाट समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीनै नाममध्येबाट मन्त्रीपरिषदले १ जनालाई अध्यक्ष छान्ने छ । 

भिष्मराज ढुङगानाको बर्खास्तीपछि बोर्डको अध्यक्ष पद खाली छ । सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको भेटिएपछि ढुङगानालाई सरकारले बर्खास्त गरेको हो । धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस