कांग्रेस महाधिवेशनको तालिका परिवर्तन हुन सक्दैन : सिटौला

सफल खबर संवाददाता

बुधबार, २४ कार्तिक २०७८, १२ : ५३
कांग्रेस महाधिवेशनको तालिका परिवर्तन हुन सक्दैन : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनलाई निर्धारित मितिमै सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।

बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा उनले महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताए ।नेता सिटौलाले भने, ‘२७ गतेबाट बाँकी रहेका वडा अधिवेशनहरु सम्पन्न गरेर मंसिरको २७ गते पार्टीको केन्द्रीय पदाधिकारी निर्वाचित गर्नु छ । अत्यन्तै छोटो कार्यतालिका छ । तर एक दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन । यसलाई हामीले सफल बनाउनु छ, सबैले मिलेर ।’

उनले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रुपमा एकतावद्ध बनाउन सफलता मिलोस् भन्ने कामना पनि गरे ।‘स्वच्छ प्रतिस्पर्धा गर्नुछ । आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नुछ र प्रतिस्पर्धापछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीको रुपमा नेपाली कांग्रेसलाई उतार्नु छ’ उनले भने, ‘प्रतिस्पर्धापछि पार्टी भित्र गर्ने समर्पण र एकतामा पनि सफलता मिलोस् ।’जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने पनि सिटौलाले बताए ।

प्रतिक्रिया दिनुहोस