पत्रकार नेपालको परिवारलाई पत्रकार महासंघद्धारा सहयोग प्रदान

रासस

शनिबार, १३ कार्तिक २०७८, ०८ : ४३
पत्रकार नेपालको परिवारलाई पत्रकार महासंघद्धारा सहयोग प्रदान

चितवन । नेपाल पत्रकार महासङ्घले स्वर्गीय पत्रकार द्वारिका नेपालको परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको रु ५० हजार र केन्द्रले प्रदान गरेको रु २५ हजार गरी रु ७५ हजार आर्थिक सहयोग गरिएको हो ।

पत्रकार नेपालको १३ औँ पून्यतिथिको अवसर पारेर शुक्रबार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले महासङ्घका पदाधिकारीको उपस्थितिमा नेपालका भाइ शालिकरामलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । यही असोज ३१ गते ४७ वर्षीय नेपालको निधन भएको थियो ।

दसैँको टीका लगाउन रौतहटको चन्द्रनिहापुर घर जाने क्रममा असोज २५ गते बाटोमा बेहोस भएपछि उनलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । उहाँको मष्तिष्काघातको उपचारका क्रममा निधन भएको हो ।  

चितवन शाखाले यसअघि दिवङ्गत हुने आफ्ना सदस्यका परिवारलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । यस्तै महासङ्घका सदस्यको रु सात लाख बराबरको दुर्घटना बीमा समेत गरिसकेको छ । बीमा सुविधा लिन नसक्ने अवस्थामा तत्कालै आर्थिक सहायतास्वरुप महासङ्घले सो रकम सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस