आइपिएल : बेंगलोरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

विहीबार, १३ बैशाख २०७५, ०८ : ३७
आइपिएल : बेंगलोरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउदै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । बेंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा घरेलु टोली बेंगलोरले दिएको २०५ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टाएको थियो । चेन्नईको जितमा अम्बाती रायाडुले ८४ तथा कप्तान महेन्द्र सींह धोनीले अविजित ७० रन बनाए । रायाडुले ५३ बलमा ८ छक्का ३ चौका प्रहार गरेका थिए ।

यस्तै विस्फोटक ब्याटिङ गरेका धोनीले ३४ बलमा ७ छक्का र १ चौका प्रहार गरेका थिए । अन्तिम ओभरमा चेन्नईलाई जितको लागि १५ रन आवश्यक रहेको थियो । क्रिजमा थिए ड्याने ब्राभो र धोनी । अन्तिम ओभरको पहिलो बलमा ब्राभोले चौका र दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बलमा एक रन लिदै ब्राभोले धोनीलाई स्ट्राइक दिए । चौथो बलमा धोनीले छक्का प्रहार गर्दै चेन्नईलाई शानदार जित दिलाए । चेन्नईका ब्राभो १४ रनमा अविजित रहदा सुरेस रैनाले ११ रन जोडे । बेंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर २०५ रन जोडेको थियो । बेंगलोरका लागि एबी डी भिलियर्सले ६८ तथा क्विनटन डी ककले ५३ रनको अर्धशतकीय पारी खेलेका थिए । छक्काको वर्षा भएको यो खेलमा डी भिलियर्सले ८ छक्का प्रहार गरेका थिए भने डी ककले ४ छक्का बनाए । यो खेलमा ३३ छक्का प्रहार भएको थियो । त्यस्तै मन्दिप सिंहले ३२, कप्तान विराट कोहलीले १८ रन जोड्दा वासिंगटन सुन्दर ११ रनमा अविजित रहे । चेन्नईका ड्याने ब्राभो,इमरान ताहिर र शार्दुल ठाकुरले समान २ – २ विकेट लिए ।

यो जितसँगै चेन्नईले किंग्स इलाभेन पन्जाबलाई पछि पार्दै शीर्ष स्थान ओगटेको छ । चेन्नईले ६ खेलबाट ५ जितसहित १० अंक जोडेको छ । लिगको दोस्रो स्थानको पन्जाबको पनि १० अंक रहेको छ । योसँगै चेन्नईले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । यता, चौथो हार बेहोरेको बेंगलोर ६ खेलबाट ४ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ । बेंगलोरको पनि प्ले अफमा पुग्ने सम्भावना कायम रहेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस