आइसीसी टीट्वेन्टी विश्वकप क्रिकेट

इङ्ल्यान्डको लगातार दोस्रो जीत

एजेन्सी

विहीबार, ११ कार्तिक २०७८, ०७ : ५०
इङ्ल्यान्डको लगातार दोस्रो जीत

एजेन्सी । इङ्ल्यान्डले आइसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जीत निकालेको छ। बुधबार भएको खेलमा बंगलादेशलाई आठ विकेटले हराउँदै इङ्ल्यान्डले दोस्रो जीत निकालेको हो। 

आबुधावीको शेख जायद स्टेडियममा बंगलादेशले दिएको एक सय २५ रनको मध्यम लक्ष्य इङ्ल्यान्डले १४।२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो। इङ्ल्यान्डलाई प्रभावशाली जीत दिलाउन जासन रोयले अर्धशतकीय पालि खेले। उनले ३८ बलमा तीन छक्का र पाँच चौकाको मद्दतमा ६१ रन बनाए। 

यसै गरी डाविड मालनले अविजीत २८ रन बनाउँदा जस बटलरले १८ रनको योगदान दिए। बंगलादेशका सोरिफुल इस्लाम र नासुम अहमदले एक(एक विकेट लिए। 

यसअघि टस जीतेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २४ रनको योगफल खडा गरेको थियो। बंगलादेशका मुस्फिकुर रहिमले सर्वाधिक २९ रन बनाए। यसै गरी मोहमुल्लाह र नासुम अहमदले समान १९, नुरुल हसनले १६ र मेहन्दी हसनले ११ रन बनाए। 

प्रतिक्रिया दिनुहोस