प्रधानन्यायाधीशको जवाफ- राजीनामा दिन्नँ, सामूहिक राजीनामा दिने हो भने छलफल गरौँ

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, १३ : १४
प्रधानन्यायाधीशको जवाफ- राजीनामा दिन्नँ, सामूहिक राजीनामा दिने हो भने छलफल गरौँ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने स्पष्ट पारेका छन् । मंगलबार दिउँसो न्यायाधीशहरुसँगको छलफलमा प्रधानन्यायाधीशले अन्य न्यायाधीशमाथि पनि प्रश्न उठेको बताउँदै राजीनामा नदिने बताएका हुन् । 

‘अरु न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छ । प्रश्न उठेका सबैले राजीनामा दिउँ, सामूहिक राजीनामा दिने हो भने छलफल गरौँ । म पनि मार्ग प्रशस्त गर्छु । होइन भने मिडियाबाट उठेका विषयकै आधारमा राजीनामा दिँदै जाने हो भने न्यायापालिका बच्न सक्दैन ।’ जबराले छलफलका क्रममा भने । 

उनले आफू संवैधानिकरुपमा नियुक्त भएको हुँदा संवैधानिक बाटोबाट मात्रै बाहिरिने बताएका थिए ।

पछिल्लो समय मन्त्रिमण्डलमा भाग लिएको, संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा सुनुवाइ रोकेको, स्वचालित विधि अर्थात गोलाप्रथाबाट पेशी तोक्ने प्रतिवेदन कार्यान्वयन नगरेको लगायत विषयमा जोडेर प्रधानन्यायाधीशको राजीनामा माग्ने आवाज बढिरहेको छ । 

न्यायालय जोगाउन प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने सर्वोच्चका वरिष्ठतम् न्यायाधीशहरुको पनि निष्कर्ष छ । नेपाल बार एसोसिएसन र पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले भने प्रधानन्यायाधीश जबराको  राजीनामा माग नै गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस