निश्चित व्यक्तिले स्वार्थ पूरा गर्न जातीय हिंसा मच्चाए : शेख हसिना

एजेन्सी

सोमबार, ०८ कार्तिक २०७८, १४ : ३६
निश्चित व्यक्तिले स्वार्थ पूरा गर्न जातीय हिंसा मच्चाए : शेख हसिना

ढाका  । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले जातीय विभाजन गर्न र देशको छवि बिगार्न केही व्यक्तिले नियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको आरोप लगाएकी छिन् ।

बंगलादेशमा दुर्गा पूजा मनाउने क्रममा फेसबुकमा एउटा फेक पोस्टका कारण साम्प्रदायिक द्वन्द्व मच्चिएको थियो । एउटा मुस्लिम समूहले हिन्दूहरुको दर्जनौं घरमा आगजनी गर्नुका साथै हिन्दू मन्दिरमा तोडफोड गरेको थियो ।

‘बंगलादेशलाई सुनियोजित तरिकाले कसैले पनि पछाडि धकेल्न सक्दैन । पछिल्लो समयमा बंगलादेशमा भएका घटनाहरु सुनियोजित हुन् । देशमा अस्थिरता निम्त्याउन चाहने तत्वले यस्ता षडयन्त्र गरेका हुन् । ’ प्रधानमन्त्रीले भनिन् ।

बंगलादेशलाई जातीय र साम्प्रदायिक दंगा फैलाउन लामो समयदेखि एउटा समूह लागिरहेको उनको भनाई थियो । ‘आफ्नो इच्छा पूरा गर्न निश्चित व्यक्ति र समूहले जातीय द्वन्द्व बढाउन लागि परेका छन्,’ उनले भनिन् ।

जातीय हिंसा भड्काएको आरोपमा प्रहरीले शैकत मन्डललाई पक्राउ गरेको छ । यसअघि कोक्स बजारबाट इक्वाल होसेन पक्राउ परेका थिए। होसेन बंगलादेशको पछिल्लो जातीय हिंसाका प्रमुख षडयन्त्रकारी भएको जनाइन्छ ।

हिंसाबीच, बंगलादेशका अल्पसंख्यक हिन्दूहरुले नौ दिनसम्म दुर्गा पूजा गरेर विजया दशमी मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस