कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु

एजेन्सी

शुक्रबार, ०५ कार्तिक २०७८, १३ : ४९
कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडबाट विश्वभरका स्वास्थ्यकर्मीहरु नराम्रोसँग प्रभावित भएको जनाएको छ । कोभिडबाट मात्र ८० हजार देखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको पनि उसले जनाएको छ । सन् २०२० को जनवरीदेखि यसै वर्षको मे महिनामा उनीहरुको मृत्यु भएको हो । 

‘स्वास्थ्यकर्मीलाई खोपमा प्राथमिकता दिनुपर्छ,’ डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रेससले भने । खोप वितरणमा देखिएको असमानताप्रति उनले असन्तुष्टि जनाए ।  

यसअघि डब्लूएचओका अर्का बरिष्ठ अधिकारीले खोप अभावमा अर्को वर्ष पनि विश्वमा कोभिड महामारी रहने चेतावनी दिएका थिए । 

विश्वभर १३ करोड ५० लाख स्वास्थ्यकर्मी  रहेको अनुमान छ । ‘हरेक पाँचमध्ये दुई स्वास्थ्यकर्मीले  पूर्ण खोप लगाएको ११९ देशमा संकलन गरिएको तथ्यांकले देखाएको छ ।,’ डा. टेड्रोसले भने ।

तथ्यांकअनुसार अफ्रिकामा हरेक १० स्वास्थ्यकर्मीमध्ये मुश्किलले एक जनाले खोप लगाएका छन् जबकी उच्च आय भएका देशमा १० स्वास्थकर्मीमध्ये आठ जनाले खोप लगाएका छन् । 

खोप वितरणमा देखिएको असमानताका कारण स्वास्थ्यकर्मीको मृत्यु पनि महादेशअनुसार फरक फरक रहेको जनाइएको छ । 

अफ्रिकी महादेशमा ५ प्रतिशत भन्दा थोरै जनसंख्याले खोप लगाएका छन भने अन्य महादेशमा ४८ प्रतिशतले खोप लगाएका छन् । उच्च र मझौला आय भएका देशका धेरै मानिसमा खोपको पहुँच भएको डब्लूएचओको भनाई छ । 

विश्वभर लगाइएको कूल खोप परिणाममध्ये अफ्रिकामा जम्म २ दशमलब ६ प्रतिशतले लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस