बेमौसमी वर्षाले देशभर १८ जनाको मृत्यु, ३३ सम्पर्कविहीन

रासस

बुधबार, ०३ कार्तिक २०७८, ०९ : ४८
बेमौसमी वर्षाले देशभर १८ जनाको मृत्यु, ३३ सम्पर्कविहीन

काठमाडौं । मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ । विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन् । गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डोटीमा ७, धनकुटामा ५, सुनसरीको धरानमा २, कालीकोटमा १ र डडेल्धुरामा १ जनाको मृत्यु पुष्टि भएको छ ।

नेपालमा गत असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिलेसम्म सुदूरपश्चिमलाई नराम्ररी प्रभावित बनाएको छ । प्रहरी प्रधान कार्यालयले बिहान दिएको विवरणअनुसार इलामको फाकफोकथुम गाउँपालिका–१ ठेङ्गेपुरमा नगबहादुर शेर्माको घरमा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जिल्लाको चौबीसे गाउँपालिका–१ छनम बुधबारेमा मंगलवार राति पहिराले भीमबहादुर श्रेष्ठको घर भत्काउँदा ६ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार पहिरोमा परेका १२ मध्ये ६ जनाको उद्धार गरिएको छ ।

महाशाखाका प्रमुख पाण्डेले पहिरोमा परेर हुम्लामा ६, बझाङमा २३ जना सम्पर्कविहीन रहेका जानकारी आएको बताए । कैलालीमा पनि ४ जना बेपत्ता भएका छन् । पहिरो खसेर बझाङको थलारा गाउँपालिका–४ मा ७ घरका २३ सम्पर्कविहीन भएका हुन् । सो क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले घटनाको यकिन विवरण अझै आउन सकिरहेको छैन । हुम्लाका प्रजिअ गणेश आचार्यका अनुसार जिल्लामा आइतवारदेखि परेको पानी अहिले बिहान मात्रै रोकिएको छ । उनले खार्पुनाथ गाउँपालिका–५ खर्पेल गाउँमा मंगलवार राति पहिरो झरेर १ घर पुरिएको र त्यहाँ रहेका ६ जना सम्पर्कविहीन भएका जानकारी प्राप्त भएको बताए ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार बाढीपहिरोका कारण ४ सम्पर्कविहीन भएका र उनीहरूको खोजी जारी छ । जिल्लाका ३०० घर प्रभावित भएको उनले जानकारी दिए । अन्य विभिन्न जिल्लामा ठूलो भौतिक क्षति भए पनि यकिन विवरण आइसकेको छैन । अहिले उद्धार कार्यमा मुलुककै ध्यान केन्द्रित भएको र बेपत्ताको खोजीका लागि ३ वटै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा समुदाय सक्रिय रहेको महाशाखा प्रमुख पाण्डेले जानकारी दिए ।

जिल्लामा फसेका नौको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थलमार्गबाट समेत उद्धार कार्य जारी रहेको र अहिलेसम्म कञ्चनपुरलगायत जिल्लाबाट ७०० लाई उद्धार गरी सुरक्षित ठाउँमा पुर्‍याइएको गृह मन्त्रालयले जनाएको छ । प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्य १५ जिल्लाका अधिकांश राजमार्ग तथा धेरै ठाउँमा विद्युत् र फोन सेवा समेत अवरुद्ध भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनले उद्धार, राहत तथा अस्थायी बसोबासको व्यवस्थापन कार्य पनि सँगसँगै भइरहेको जानकारी दिए ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रभावित क्षेत्रमा रातिमा समेत खटिएर प्रहरीले उद्धार कार्यलाई तीव्रता दिइरहेको र यो क्रम जारी रहेको जानकारी दिए । अहिलेको वर्षाले किसानको भित्रिन लागेको धानबालीलाई समेत नराम्ररी प्रभावित बनाएको छ । बुधवार भने वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कणाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ । 

जसका कारण अहिले हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र  गण्डकी प्रदेशका केही स्थानमा र बाकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । बुधवार दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका १र२ स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस