नमुना सामुदायिक विद्यालय

नारायणी नमुना माविलाई बोर्डिङ छाडेर आउने विद्यार्थीको चाप थेग्नै कठिन

सूर्यप्रकाश कँडेल

मंगलबार, ११ बैशाख २०७५, १४ : ५४
नारायणी नमुना माविलाई बोर्डिङ छाडेर आउने विद्यार्थीको चाप थेग्नै कठिन

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर दसमा रहेको नारायणी नमुना माध्यमिक विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्मको पढाई हुन्छ । मंगलबार बिहान विद्यालय परिसरमा पुग्दा विद्यालयमा भर्ना हुने विद्यार्थी र तिनलाई भर्ना गराउन आएका अभिभावकको भीड थियो । योभन्दा ठूलो भीड सोमबार बिहान प्रवेश परीक्षा दिने विद्यार्थीहरुको थियो ।
समता स्कुलबाट ६ कक्षा उत्तीर्ण गरेकी छोरी आकृतिलाई सात कक्षामा भर्ना गराउन विद्यालय आएका केशव भट्ट हातमा फाइल बोकेर यताउता सोधपुछमा व्यस्त थिए । ‘छोरीले प्रवेश परीक्षा उत्तीर्ण गरी । उसैलाई भर्ना गर्न आएको’ छोरीलाई साथमा लिएर आएका उनले भने, ‘ठूलो छोराले पनि यही विद्यालयमा दस कक्षामा पढ्छ । उसलाई पनि बोर्डिङ छुटाएर आठ कक्षाबाट यहाँ भर्ना गरिदिएको थिएँ ।’
भरतपुर १०, विशालचोकबाट कक्षा ६ मा भर्ना हुन अभिभावकको साथमा विद्यालय आएकी शिखा पुनलाई पनि भर्ना हुने हतारो थियो । उनले होलील्याण्ड ईंग्लिस स्कुलबाट पाँच कक्षा उत्तीर्ण गरेकी हुन् । आकृति र शिखा प्रतिनिधि विद्यार्थी हुन् । सोमबारको प्रवेश परीक्षामा सहभागी करिब एक हजार विद्यार्थीमध्ये चार सय ५० जना विद्यार्थीमात्र उत्तीर्ण भएको विद्यालयका शिक्षक कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नर्सरीदेखि पाँच कक्षासम्म एवं कक्षा ११ र १२ मा अंग्रेजी भाषा माध्यम तथा ६ देखि दस कक्षासम्म नेपाली र अंग्रेजी दुबै भाषामा पढाइ हुने यस विद्यालयबाट यसवर्ष दुई सय १५ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी छन् । आगामी तीन वर्षमा सबै कक्षामा अंग्रेजी भाषाबाट मात्रै पढाई हुने तयारीमा विद्यालय लागेको छ ।
अंग्रेजी भाषामा शिक्षण सुरु गरेपछि संस्थागत विद्यालय (बोर्डिङ) पढेका विद्यार्थीको समेत आकर्षणको केन्द्र बन्न सफल भएको छ यो विद्यालय । विद्यालयमा नजिकैकामात्र नभई दस किलोमिटर टाढाबाट पनि साइकलमा विद्यार्थी पढ्न आउँछन् । ‘बाहिरी विद्यालयबाट भर्ना हुन आउने विद्यार्थीमध्ये ८० प्रतिशत संस्थागत विद्यालयबाट आउँछन्’ प्रधानाध्यापक दवाडी भन्छन्, ‘उनीहरु धेरैजसो कक्षा आठदेखि माथिको पढाईका लागि यहाँ भर्ना हुन आएका छन् । ६ र सात कक्षामा भर्ना हुन आएकाहरु पनि छन् ।’


लालटिनदेखि प्रोजेक्टरसम्म
शिक्षाको उज्यालो बाँड्ने महत्वपूर्ण काममा आफूलाई साढे पाँच दशकदेखि समर्पित गर्दै आइरहेको चितवनको अब्बल सामुदायिक विद्यालय नारायणी नमुना माध्यमिक विद्यालयको उज्यालोसँग अनौठो संयोग छ । ५४ वर्षअघि २०२० सालमा स्थापित नारायणीले स्थापनाकालमा रात्रिकालिन कक्षा लालटिनको उज्यालोमा सञ्चालन गर्दथ्यो । अहिले यस विद्यालयले आफ्ना विद्यार्थीलाई प्रोजेक्टरको माध्यमबाट शिक्षाको उज्यालो बाँडिरहेको छ ।
स्थापनाकालमा अरुको जग्गामा झुपडीबाट सुरु भएकोे विद्यालयसँग अहिले छ बिघा चार कठ्ठा चौध धुर जग्गा छ । यसमध्ये एक बिघा जग्गा विद्यालयले २० लाख रुपैयाँ लिएर सप्तगण्डकी बहुमुखी क्याम्पसलाई भोगचलन गर्न दिएको छ । उक्त रकमलाई मुद्दती खातामा राखेर त्यसको ब्याजबाट र अभिभावकसँग मासिकरुपमा लिइने सहयोग रकमबाट खर्च व्यवस्थापन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापा बताउँछन् ।
तीन बिघामा रहेको विद्यालय हाताभित्र तीन वटा पक्की भवन, नेत्रहीन विद्यार्थी पढ्ने कोठा, छात्रावास तथा बौद्धिक अपांगता भएका विद्यार्थीले पढ्ने तीन वटा अलगअलग टिनको छाना भएका कच्ची भवन छन् । तीनतल्ले पक्की भवनमा १८ वटा कोठा छन् । ती कोठामध्ये भुइँतलामा रहेका छ वटा कोठामा कक्षा ११, पहिलो तलामा १२ कक्षा र दोस्रो तलामा प्रयोगशाला (ल्याब) रहेको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडी बताउँछन् । दुई हजार हाराहारी विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयमा ६५ जना शिक्षक कार्यरत छन् ।
इतिहास
स्थापनाकालमा नाइट स्कुल (रात्रिकालीन विद्यालय), त्यसपछि प्रावि, निमावि, मावि, उच्चमाविहुँदै २०६९ जेठ ६ गते स्वर्ण महोत्सव मनाएकै दिनदेखि यस विद्यालयलाई नारायणी नमुना मावि बनाइयो । एक सय ५० सूचांक रहेको सरकारी मापदण्ड पूरा गरेकोले देशभित्र पहिलोपटक २०७० सालमा सरकारले यस विद्यालयलाई नमुना मावि घोषणा गरेको व्यवस्थापन समितिका अध्यक्ष थापा बताउँछन् ।
यस विद्यालयमा सुरुमा विद्यार्थी त्यसपछि शिक्षक र प्रधानाध्यापक भई २०६४ सालयता व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी बोकेका थापा भन्छन्, अहिले भरतपुर उच्चमावि रहेको प्रांगणमा छाप्रो बनाई २०२० साल जेठ ६ गतेदेखि साँझ ६ बजेदेखि राति दस बजेसम्म पढाई सुरु गरियो । त्यतिबेला मलगायत पाँच जना जति विद्यार्थी थियौँ । बिजुली बत्ती नभएकोले लालटिनको उज्यालोमा पढ्ने, पढाउने काम हुन्थ्यो । हामी जागिरे विद्यार्थी दिनभर काम गथ्र्यौं, बेलुका लालटिनको उज्यालोमा पढ्थ्यौँ ।
यस विद्यालयबाट पहिलोपटक २०२४ सालमा पाँच जना छात्रले एसएलसी परीक्षा दिए । एक जना प्रथम, दुई जना द्वितीय र दुई जना तृतीय श्रेणीमा उत्तीर्ण भए । प्रथम श्रेणीमा उत्तीर्ण भएका छात्र दीपक ढकाल जिल्ला प्रथम भएपछि त्यतिबेला खुशीयाली नै मनाइएको अध्यक्ष थापा सम्झन्छन् । २०२७ सालमा सातकोठे विद्यालय भवन निर्माण गरेर अहिलेको ठाउँमा सरेको विद्यालयमा २०३१ सालमा निमावि कक्षा थप गरी दिउँसोमा निमावि र रातमा मावि सञ्चालन हुँदै आयो । २०३७ सालपछि भने निमावि र माविका सबै कक्षा दिउँसो सञ्चालन गर्न थालियो । अहिले कक्षा ११ र १२ को पढाई बिहान र नर्सरीदेखि कक्षा दससम्मको पढाई दिउँसो सञ्चालन हुन्छ ।


मूल्यांकनमा अब्बल
२०४३ सालको शिक्षा दिवसको अवसरमा क्षेत्रीय पुरस्कारस्वरुप ५० हजार रुपैयाँ प्राप्त गर्न सफल यस विद्यालयले सरकारी मूल्यांकनमा आफूलाई अब्बल साबित गर्दै आएको छ । दुई वर्षअघि सरकारी मूल्यांकनमा मध्यमाञ्चल प्रथम र राष्ट्रिय द्वितीय भई नारायणीले एक लाख रुपैयाँ पुरस्कार पायो । यसअघि २०६९ सालमा राष्ट्रिय पाँचौं भई पाँच लाख, २०७० सालमा राष्ट्रिय छैटौं र २०७१ सालमा राष्ट्रिय एक्काइसौँ भई एक, एक लाख रुपैयाँ पुरस्कार पाउन सफल भएको प्रधानाध्यापक दवाडीले जानकारी दिए ।
नारायणी नमुना माविले नेत्रहीन विद्यार्थीहरुको लागि ब्रेललिपीमा पढाई सञ्चालन गर्दै आएको छ । निःशुल्क आवास र खानाको सुविधासहित ३० जना नेत्रहीन विद्यार्थीलाई छुट्टै ब्लकमा राखेर पढाउने गरिएको छ । विद्यालयले २०५४ सालदेखि बौद्धिक अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति र खाजा सुविधासहित विशेष शिक्षा दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस