लोप हुँदैछ पिङ

रासस

शुक्रबार, २९ असोज २०७८, २२ : २८
लोप हुँदैछ पिङ

सांकेतिक तस्वीर

काठमाडौं । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता छ । गाउँघरमा वर्षमा एक पटक भएपनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ । विशेषगरी दसैंको बेलामा पिङको छुट्टै महत्व हुन्छ । 

विगतका वर्षहरुमा दमौली सदरमुकाममा पनि पिङ हाल्ने प्रचलन थियो । दसैँ मनाउन गाउँ गएकाहरुले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे । तर विस्तारै पिङ हाल्ने प्रचलन हराउँदै गएको छ । आजभोलि ग्रामीण भेगमा पनि निकै कमै मात्र पिङ देख्न सकिन्छ । 

पहिला पहिला दसैँ आउनु अगावै पिङ हालेर रमाइलो हुने भएपनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठले बताए । “दसैँमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो की भन्ने चिन्ता छ”, उनले भने, “आजभोलि त पिङ पनि देख्न छाडियो ।”

भिमाद नगरपालिका–९ का शिवकुमार आलेले गाउँघरमा पिङ हाल्ने प्रचलन घट्दै गएको बताउनुभयो । विगतका वर्षहरुमा प्रत्येक गाउँमा पिङ देख्ने गरिएपनि आजभोलि फाट्टफुट्ट मात्रै पिङ देखिने उहाँले बताउनुभयो । “पहिला पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपथ्र्यो, आजभोलि विस्तारै घट्दै छ”, उनले भने । 

यस वर्ष भने दसैँमा गाउँघरमा मानिसको चहलपहल बढेको उहाँले बताउनुभयो । “यो वर्ष खोप लगाएको हुनाले शहर सुनसान, गाउँ रमाइलो भएको छ”, उनले भने, “दसैँ मान्न शहरबाट गाउँ फर्किनेको चहलपहल राम्रो छ ।”

व्यास नगरपालिकाले विगत दुई वर्षमा खुल्लामैदानमा रोटे पिङ हालेको थियो । गत वर्ष कोरोना कहरका कारण पिङ हालिएन । रोटे पिङ संरक्षणका लागि व्यासले ३१ वर्षपछि दमौलीमा उक्त पिङ हालेको थियो । तर यस वर्ष दमौलीमा पिङ देखिएको छैन । 

केही ठाउँमा भने संस्कृति र परम्पराका लागि भन्दै स्थानीयवासीले पिङ हालेका छन् । बन्दिपुरस्थित टुँडिखेलमा स्थानीय व्यवसायीले पिङ हालेको होटल व्यवसायी किसान प्रधानले जानकारी दिए । “दसैँमा पिङ खेल्ने परम्परालाई बचाउन यो वर्ष टुँडिखेलमा पिङ बनाएका छौ”, प्रधानले भने । 

व्यास नगरपालिका–५ भुपटोलका कृष्णकुमार श्रेष्ठले पनि व्यक्तिगत लगानीमा पिङ निर्माण गरेका छन् । पछिल्लो समय लोप हुँदै गएको पिङको संरक्षण र यसको महत्वलाई उजागर गर्नका लागि व्यक्तिगत लगानीमा पिङ हालेको उहाँल जानकारी दिए ।

“आधुनिकतासँगै यस्तो पिङ आजभोलि देख्न पाइँदैन, यसको संरक्षणका लागि पनि पिङ बनाएको हूँ”, उनले भने । पिङ निर्माणका लागि डेढ लाख खर्च भएको छ । नेपालीहरुको महान चाडमा चङ्खे पिङ हालेर सस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासी प्रेमकुमार श्रेष्ठले बताए । 

प्रतिक्रिया दिनुहोस