सोलार ब्याट्रीको खपत बढ्यो, महिना दिनदेखि विद्युत् अवरुद्ध

रासस

मंगलबार, २६ असोज २०७८, २१ : ०७
सोलार ब्याट्रीको खपत बढ्यो, महिना दिनदेखि विद्युत् अवरुद्ध

फाइल फोटो

काठमाडौँ । हुम्लाको जिल्ला सदरमकाम सिमकोटमा यतिखेर विद्युत् आपूर्ति नभएपछि सोलार ब्याट्रीको खपत बढी भएको छ । जिल्लामा करिब एक महिनादेखि हेल्दुङ विद्युत् वितरण केन्द्रबाट प्रसारित विद्युत्ले बेलाबेलामा धोका दिएपछि हाल सदरमुकाम सिमकोटमा सोलार तथा ब्याट्रीको बिक्री बढेको व्यवसायीले बताउने गरेका छन् । 

सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका अधिकांश नागरिक लामो समयदेखि उज्यालोबाट वञ्चित हुनु परेपछि यतिखेर दैनिक दिन सोलार तथा ब्याट्रीको जोहो गर्न थालेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि सिमकोट–१ देखि ७ सम्मका स्थानीयवासी सोलार टुकीको खोजीमा सदरमुकाम पुग्ने गरेका छन् । 

विद्युत् बन्द भएको एक हप्ता यतादेखि बजारका विभिन्न सोलार पसलमा सोलार किनबेच गर्ने सेवाग्राहीको घुइँचो लाग्न थालेको छ । दैनिक एउटा पसलमा मात्रै कम्तीमा पनि १५ देखि ३० वटासम्म सोलार बिक्री हुने गरेको एयरपोर्ट चोकमा रहेको कुम्मेर सोलार तथा ब्याट्री पसलका प्रोप्राइटर टेकबहादुर रावतले बताए । 

विद्युत् अवरुद्ध भएपछि बल्ब, सोलार, ब्याट्री र कन्भर्टरलगायतका सामग्री बिक्री बढेको रावतले बताए । जिल्लामा बन्द भएको विद्युत् मर्मत कार्य भइरहेको भए पनि कहिले सञ्चालन हुने हो त्यसको भने यकिन हुन नसकेको बताइएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सदरमुकामका सबै इलेक्ट्रोनिक पसल र घरेलु तथा साना उद्योग बन्द भएका छन् । 

प्रतिक्रिया दिनुहोस