क्रूज ड्रग्स पार्टीपछि मुम्बईको पोर्टमा छापा, एक अर्ब २५ करोडको हेरोइन बरामद

एजेन्सी

शुक्रबार, २२ असोज २०७८, १३ : ५६
क्रूज ड्रग्स पार्टीपछि मुम्बईको पोर्टमा छापा, एक अर्ब २५ करोडको हेरोइन बरामद

मुम्बई । मुम्बईमा क्रूज ड्रग्स पार्टी प्रकरणमा बलिउड सुपरस्टार शाहरुख खानको छोरा आर्यन लगायत ८ जना पक्राउ परेपछि त्यहाँको एक पोर्टमा छापा मारिएको छ । 

राजस्व निर्देशनालय (डिआरआई)ले मारेको छापामा मुम्बई पोर्टबाट २५ केजी हेरोइन बरामद गरिएको छ । उक्त हेरोइनको अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब २५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । 

हेरोइनसँगै डिआरआईले एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुम्बईका ६२ वर्षीय जयेश सांघवी छन् । जयेशले इरानबाट उक्त हेरोइन कन्टेनरमा लुकाएर ल्याएको जनाइएको छ । 

उक्त कन्टेनर वैभव इन्टरप्राइजेजका सन्दीप ठक्करले आयात गरेको डिआरआईले जानकारी दिएको छ । डिआरआईको टिमले सन्दीपसँग पनि सोधपुछ गरेको छ । 
यसअघि गत जुलाईमा पनि डिआरआईले मुम्बई बन्दरगाहमा छापा मार्दा २९३ किलो हेरोइन बरामद गरेको थियो । 

प्रतिक्रिया दिनुहोस