काठमाडौं। अमेरिकाको परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी दक्षिण चीन सागरमा अज्ञात वस्तुसँग ठोक्किएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएअनुसार सागरमा पानीमुनि रहेको अज्ञात वस्तुसँग उक्त पनडुब्बी ठोक्किएको हो । यो घटनामा अमेरिकी जलसेनाका १५ सैनिक घाइते भएका छन् ।
अमेरिकी अधिकारीहरुका अनुसार शनिबार यूएस कनेक्टिकट नामको यो पनडुब्बी अज्ञात वस्तुसँग ठोक्किएको हो । यद्यपि पनडुब्बी कसरी ठोक्किएको थियो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।
अमेरिकी जलसेनाका प्रवक्ताले अहिले पनडुब्बी अमेरिकाको गुआमतर्फ अघि बढेको बताएका छन् । उनले भने, ‘घटनामा यूएसएस कनेक्टिकटका परमाणु ऊर्जा प्लान्ट र अन्य महत्वपूर्ण भागमा कुनै क्षति भएको छैन र सबै भागले राम्रोसँग काम गरिरहेको छ ।’ पनडुब्बी ठोक्किँदा कति नोक्सानी पुगेको छ भन्नेबारे अहिले अनुसन्धान हुने उनले बताएका छन् ।
चीन र ताइवानबीच तनाव चलिरहेको अवस्थामा दक्षिण चीन सागरमा अमेरिकी पनडुब्बी दुर्घटनामा परेको हो । हालै मात्र चिनियाँ सेनाका ३८ विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २२ असोज २०७८, १३ : ०५
लेखकबाट थप