ताइवान क्षेत्रमा चिनियाँ युद्धक विमानको ड्रिल, एकै दिन हालसम्मकै धेरै सैन्य विमान ताइवानको आकाशमा

एजेन्सी

मंगलबार, १९ असोज २०७८, १३ : ३५
ताइवान क्षेत्रमा चिनियाँ युद्धक विमानको ड्रिल, एकै दिन हालसम्मकै धेरै सैन्य विमान ताइवानको आकाशमा

चीन ।  चीनले एकै दिन हालसम्मकै धेरै सङ्ख्यामा लडाकु विमान ताइवानको आकाशमा पठाएको छ। 

चिनियाँ जनमुक्ति सेनाले सोमवार मात्र ताइवानको आकाशमा सैन्य ड्रिलका लागि ५६ वटा युद्धक विमान पठाएको ग्लोबल टाइम्सले जनाएको छ। अमेरिकाले ताइवान नजिक चिनियाँ मुख्य भूमिमा भइरहेको सैन्य ड्रिल प्रति चासो व्यक्त गरेको भोलिपल्ट नै चिनियाँ जनमुक्ति सेनाले विमानको सङ्ख्यामा 'रेकर्ड ब्रेक' गर्दै हालसम्मकै धेरै सैन्य विमान पठाएको समाचारमा उल्लेख छ। 

चिनियाँ विदेश मन्त्रालयले सोमवार मात्र अमेरिकाको वक्तव्य गलत भएको र 'स्वतन्त्र ताइवान' का कुनै पनि 'कुचाल'हरू विरुद्ध हर सम्भव उपायहरू अपनाइने जनाएको थियो। 

'ताइवान चीनको हो। अमेरिकालाई अनुत्तरदायी प्रतिक्रिया जनाइराख्नु आवश्यक छैन। अमेरिकाको प्रतिक्रियाले बाह्य विश्वमा गलत तथा अनुत्तरदायी सन्देश दिँदै एक चीन नीति तथा यसअघिका  चीन-अमेरिका बिचका सहमति पत्रहरूको उल्लङ्घन गरेको छ,' चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भनेकी छिन्। 

अमेरिकाले यसबिच सहमति विपरितका कार्यहरू गरेको तथा ताइवानलाई हतियार बेचेको, अमेरिका र ताइवानबिचको सैन्य सम्बन्ध अगाडि बढाएको जस्ता आरोप उनले लगाएकी छिन्। साथै ताइवानमा अमेरिकी सैन्य विमानको अवतरण गराइएको तथा अमेरिकी वार सिपहरू ताइवान स्ट्रेट पार गरेको बताउँदै यस्ता कार्यले चीन र अमेरिकाबिचको सम्बन्धमा असर पर्ने तथा क्षेत्रीय शान्ति तथा स्थायित्वलाई अवमूल्यन गर्ने प्रवक्ताले बताएकी छिन्। 

प्रवक्ता हुवाले 'स्वतन्त्र ताइवान'सँगको संलग्नता मृत अन्त्य हुने चेतावनीसमेत दिएकी छन्। 'चीनले स्वतन्त्र ताइवानका नाममा हुने कुचाल तथा षड्यन्त्रहरू चिर्न आवश्यक कदम चाल्ने छ,' उनले भनेकी छिन्, 'राष्ट्रिय सम्प्रभुता र भौगोलिक अखण्डता रक्षा गर्ने चीनको सङ्कल्प र इच्छा अटल छ।'

उनले ताइवानको मामिलामा अमेरिकाले लिएको नीति सुधार गर्न चेतावनी समेत दिएकी छिन्। 

चिनियाँ प्रवक्ता हुवाको चेतावनी सँगसँगै ५२ वटा ३४ जे-१६ पीएलए एयरक्राफ्ट, दुई एसयु-३० लडाकु जेट, दुई वाई-८ एन्टि-सवमरिन वारफेर एयरक्राफट , दुई केजे-५०० अर्लि वार्निङ एयरक्राफ्ट र १२ एच-७ बम्बर ताइवानको स्वघोषित दक्षिण पश्चिम एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा सोमवार प्रवेश गरेको ताइवानले जनाएको छ। 

त्यस्तै थप चार वटा जे-१६ फाइटर जेट सो क्षेत्रमा सोमवार राती प्रवेश गरेको बताइएको छ। ताइवानको रक्षा संयन्त्रले सार्वजनिक गरेको 'फ्लाइट पाथ'ले पीएलएका एयरक्राफ्टहरु ताइवान र दक्षिण चीन सागरको तोङ्कसा टापुबिचमा सक्रिय रहेका छन्। 

आइतबार मात्र त्यहाँ ३९ वटा र शनिवार ३८ वटा चिनियाँ युद्धक विमानले ड्रिल गरेका थिए।  

चीनमा शुक्रवार मात्र राष्ट्रिय दिवस मनाइएको थियो। यससँगै पीएलएका १४० वटा युद्धविमानहरुले ताइवान टापु नजिक अभ्यासमा जोडिएका छन्। त्यहाँ उनीहरूले दिन रात ड्रिल गरिरहेका छन्। 

पीएलएको निरन्तरको ड्रिलले चीनसँग यस क्षेत्रको सम्पूर्ण नियन्त्रणमा रहेको र अलगाववादीहरु तथा उनीहरूका विदेशी सहयोगीलाई शक्तिशाली चेतावनी दिएको बेइजिङ स्थित एक सैन्य विज्ञले ग्लोबल टाइम्सलाई बताएको समाचारमा उल्लेख छ।  

त्यस्तै ताइवान टापु नजिक थप पीएलए एयरक्राफ्ट र भेसलहरुले ड्रिल बढ्दै जानेसमेत बताइएको छ। 

हालै मात्र फिलिपिन्स सागरमा अमेरिका, बेलायत, जापान, नेदरल्याण्ड्स, क्यानडा र न्यूजिल्याण्डका जलसैनिकहरुले नभल ड्रिल गरेका थिए। जसमा तीनवटा एयरक्राफ्ट क्यारियर, युएसएस कार्ल भिनसन, युएसएस रोनाल्ड रेगन र एमएस क्वीन एलिजावेथ सहभागी थिए। 

बेइजिङ स्थित साउथ चाइना सी स्ट्राटेजिक सिच्वयसन प्रोविङ इनिसिएटिभ (एससीएसपीआई)का अनुसार एचएमएस क्वीन एलिजावेथले सोमवार मात्र ताइवानको दक्षिणस्थित पासी च्यानलबाट दक्षिण चीन सागर तर्फ यात्रा गरेको उल्लेख छ। त्यससँगै अमेरिकाको युएसएस चार्ल भिनसन पनि देखिएको उल्लेख छ। 

पीएलएको यो सैन्य अभ्यास त्यसै प्रति लक्षित भएको बताइएको छ।    

प्रतिक्रिया दिनुहोस