काठमाडौँ । एनआरएनएमा प्रगतिगमनकारी र अग्रगमनकारीको भिडन्त निश्चित भएको छ । माओवादी केन्द्र र काँग्रेससहितको सत्ता गठबन्धनको साथ कूल आचार्यलाई भएपनि अब एमाले एक्लै एनआरएनएमा लड्ने निश्चित भएको छ । एनआरएनएमा बद्री केसी एमालेको उम्मेदवार रहेका छन् ।
एनआरएनएको आगामी अक्टोबर २० मा निर्वाचन हुँदै गर्दा कुल अचार्यको पक्षमा काँग्रेस र माओवादी खुलेरै लागेका हुन् । आचार्यको पक्षमा लाग्न काँग्रेस र माओवादी पार्टीले विश्वभरका आफू निकट एनआरएनएलाई आन्तरिक सर्कुलर नै जारी गरेपछि एनआरएनए चुनावको माहोल थप तातिएको हो ।
एनआरएनएमा आचार्यसँगै बद्री केसी र रविना थापा चुनावी मैदानमा छन् । आचार्य समूहले रविनाले अन्तिम समयमा आएर आफूलाई समर्थन गर्ने विश्वास लिँदै आएको छ भने केसीसँग मात्रै प्रतिस्पर्धा हुँदा आफू बलियो अवस्थामा रहने दावी गर्दै आएको छ । नेपालमा भएको सत्ता गठबन्धनअनुसार नै एनआरएनएमा पनि गठबन्धन गर्नुपर्ने नीतिका साथ काँग्रेस र माओवादी एकठाउँमा उभिँदै आन्तरिक सर्कुलर गरेर चुनाव आफूअनुकुल बनाउने दाउमा देखिएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयले असोज १५ गते विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकलाई आन्तरिक सर्कुलर पठाएर लोकतन्त्रवादी समूहलाई विजयी गराउन आग्रह गरेको छ । लोकतन्त्रवादी समूहलाई विजयी गराउन तथा आवश्यक समन्वय गर्नका लागि काँग्रेसका तर्फबाट गठित पूर्णबहादुर खड्का नेतृत्वको समितिको बैठकको निर्णयअनुसार सर्कुलर गरिएको छ । सो सर्कुलरमा आचार्य नेतृत्वको प्यानललाई जिताउन आ–आफ्नो देशभित्र रहेका साथीहरुसँग आवश्यक समन्वय र सहयोग गर्नका लागि अपील गरिएको छ । साथै युरोप, एसिया, अमेरिका, अफ्रिका, मध्यपूर्व र ओशिनिया क्षेत्रका देशहरुमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्नका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी समेत प्रदान गरिएको छ ।
युरोप क्षेत्रका लागि प्रकाशशरण महत र गगन थापा, एशिया क्षेत्रका लागि अर्जुन नरसिंह केसी र अर्जुनप्रसाद जोशी, अमेरिका क्षेत्रका लागि मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व क्षेत्रका लागि गोविन्द भट्टराई र विश्वप्रकाश शर्मा, ओसिनिया क्षेत्रका लागि सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी प्रदान गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरित सर्कुलरमा उल्लेख छ ।
यसैगरी माओवादी केन्द्रले पनि स्थायी कमिटी बैठकको निर्णयको मर्मअनुसार नेपालकै जसरी गठबन्धन बनाएर एनआरएनएमा कुल आचार्य समूहलाई जिताउन लागिपर्न प्रवासका कमिटीहरुलाई आन्तरिक सर्कुलर गरिसकेको छ । गत असोज ६ गते बसेको स्थायी कमिटीको बैठकअनुसार माओवादीको प्रवास समन्वय कमिटीले सो आन्तरिक सर्कुलर जारी गरेको स्रोतले बताएको छ ।
सोहीअनुसार विदेशमा रहेका माओवादी निकट नेपाली जनप्रगतिशील मन्चहरुले उम्मेदवार तय गर्नेदेखि आचार्यको पक्षमा माहोल बनाउनेसम्मका अभियान थालिसकेका छन् । माओवादी अध्यक्ष प्रचण्डले असोज ७ गते प्रवास सम्पर्क समन्वय समितिका इन्चार्ज नारायणकाजी श्रेष्ठलाई यसबारे आवश्यक निर्देशन दिएका थिए । प्रचण्डको निर्देशनमा भनिएको छ, ‘एनआरएनएको सम्मेलनलाई विधिसम्मत र उद्देश्यमूलक ढंगले सफल पार्न प्रवास समन्वय समिति र त्यसमार्फत संगठनहरुले सकारात्मक भूमिका खेल्नेछ । यसको नेतृत्व निर्माणको सन्दर्भमा वर्तमान सरकारमा रहेका राजनैतिक दलहरुको गठबन्धनसँगको एकता र सहकार्यको नीति लिइनेछ । पार्टी केन्द्रसँगको समन्वयमा यसबारेमा ठोस निर्णय लिने जिम्मेवारी प्रवपास समन्वय समितिलाई दिइएको छ ।’ माओवादीले संघको भूमिका एवम् महत्वलाई दृष्टिगत गरी सदस्य बन्न योग्यता पुगेका संगठनका सदस्यहरुलाई एनआरएनएको सदस्य लिन समेत अनुरोध गरेको छ ।
काँग्रेस र माओवादी केन्द्रले प्रजातन्त्रवादी समूहलाई जिताउन आधिकारिक रुपमै पहल थालेपछि एनआरएनएमा हलचल भएको छ । विशेषगरी बद्री केसी समूहमा हलचल भएको हो । केसी समूहमा माओवादी निकट केही उम्मेवार अझैपनि खुलेको अवस्थामा अब के गर्नेभन्नेबारे आन्तरिक छलफल सुरु भएको केसी निकट एक एनआरएनए अभियन्ताले बताए ।
केसी एमाले निकट रहेको बताइन्छ । काँग्रेस र माओवादी एकातिर हुँदा एमाले निकटका केसीलाई निकै सकस पर्ने बताइन्छ । केसी समूहले चुनाव आफ्नो पक्षमा पार्नका लागि काँग्रेस र माओवादी निकटका केही अभियन्तालाई आफ्नो पक्षमा तान्ने प्रयास गर्दै आएको छ । तर माओवादीले केसी पक्षतिर लागेका आफ्नो संगठन निकटका एनआरएनए अभियन्ताहरुलाई पार्टीको नीतिअनुसार लाग्न निर्देशन दिइसकेको बताइएको छ भने उनीहरु नफर्किएमा संगठनबाट कारबाही गर्नेलगायतका तयारी भएको स्रोतले बताएको छ । यही हिसावले गठबन्धन जाँदा एनआरएनए कब्जाको नीतिमा लागेको बद्री समूह निल हुने कतिपयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असोज २०७८, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. हेमराज शर्माले ल्याए एनआरएनए बदल्ने ९ बुँदे रोडम्याप
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा
एनआरएनएको उपाध्यक्षमा डा. शर्माले उम्मेदवारी दिने
काठमाडौँको फोहोर व्यवस्थापनमा कुँवर नेतृत्वको एनआरएनएको चासो
एनआरएनए महिला संयोजकमा चर्चित गायिका देविका केसीको उम्मेदवारी
आगामी मार्च २ र ३ मा विश्व सम्मेलन गर्ने एनआरएनएको विद्रोही पक्षको निर्णय