भारतमा कोभिडका २४ हजार सङ्क्रमित थपिए

एजेन्सी

शनिबार, १६ असोज २०७८, १५ : १२
भारतमा कोभिडका २४ हजार सङ्क्रमित थपिए

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप २४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन शुक्रबार बिहान  सार्वजनिक जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका थिए । शुक्रबारको विवरणमा भन्दा शनिबारको विवरणमा सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको छ । 

यसअघि दैनिक सङ्क्रमितहरुको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो ।  सङ्क्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको छ । 

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ७३ हजार ८८९ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या १९७ दिन पछिकै सबैभन्दा कम हो ।  भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।  

दैनिक सङ्क्रमितहरुको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुँदै गएको हो ।  पछिल्लो २४ घण्टामा २४ हजार सङ्क्रमित हुँदा २५ हजार ४५५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ३० लाख ६८ हजार ५९९ रहेको अधिकारीहरूले जनाएका छन् ।   भारतको चिकित्सा अनुसन्धान परिषद्ले शुक्रबार एक दिनमा एक करोड ४२ लाख ९२ हजार ५४८ जना कोरोना परीक्षण गरिएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म ५७ करोड १९ लाख ९६ हजार ९९० जनाको परीक्षण गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस