केन्यामा खडेरीले नोभेम्बरसम्ममा २।४ लाख व्यक्ति भोकमरीको खतरामा : डब्ल्यूएफपी

एजेन्सी

शुक्रबार, १५ असोज २०७८, २० : ३६
केन्यामा खडेरीले नोभेम्बरसम्ममा २।४ लाख व्यक्ति भोकमरीको खतरामा : डब्ल्यूएफपी

काठमाडौं । उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस पारेको कारण नोभेम्बरसम्ममा कम्तीमा पनि २४ लाख मानिसलाई जटील खाद्यान्न अभाब हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले शुक्रबार चेतावनी दिएको छ । गत वर्षको तुलनामा यो झण्डै तीन गुणाले वृद्धि भएको डब्ल्यूएफपीले बताएको छ ।

पूर्वी अफ्रिकी मुलुकमा हालैका वर्षहरुमा एकपछि अर्को विपत्तिले यहाँको अर्थब्यवस्थालाई धरासायी बनाएको छ । डिसेम्बर २०१९ मा सलहको आक्रमण र सन् २०२० र २०२१ मा कम वर्षा भएको कारण सुक्खा उत्तरी र पूर्वी क्षेत्रमा खाद्यान्नको आपतकालीन अवस्थाको सामना गर्नुपरेको छ ।

राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार राष्ट्रपति उहुरु केन्याट्टाले गत महिना खडेरीलाई प्राकृतिक विपत्तिको रूपमा घोषणा गर्नुभएको थियो । यहाँ दुई लाख १० हजार मानिसले भोकमरीको सामना गरिसकेका बताइउको छ । 

संयुक्त राष्ट्रसंघीय निकाय डब्ल्यूएफपीको भयावह प्रक्षेपण गत वर्ष अक्टोबर र डिसेम्बरबीच रेकर्ड गरिएको तथ्याङ्कभन्दा झन्डै तीन गुणा बढी छ । उक्त समयमा साढेआठ लाखभन्दा बढी मानिसहरूले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए ।

“यो खडेरी कोभिड–१९ को ठीक पछाडि आएको छ जसले जीवनयापनमा ठूलो आर्थिक प्रभाव पारेको छ । डब्ल्यूएफपी प्रतिनिधि लरेन ल्यान्डिसले एएफपीलाई बताए।

उहाँले भन्नुभयो, “अक्टोबर महिनामा आउने पछिल्लो छोटो (वर्षा) ऋतु पनि खाद्यान्न समस्या सम्बोधन हुनेगरी बर्षा गराउन असफल हुने देखिएको र यसको कारण केन्यामा खाद्यान्न अभावको अत्यन्तै खतरनाक परिस्थिति आउने कुरामा हामी साह्रै चिन्तित छौं ।”

“केन्यामा हामीले भोगेको अन्तिम ठूलो खडेरीकाकारण आएको सन् २०१७ को खाद्यान्न सङ्कटको स्तरमा पुग्नेछौं । मेरो विचारमा हामीले आगामी महिनाहरूमा खाद्यान्न अभाव भएका थप २५ लाख मानिसहरूलाई हेर्नुपर्ने दायित्व हाम्रो आउने देखिएको छ ।” 

प्रतिक्रिया दिनुहोस