माओवादीले टुङ्ग्यायो बाँकी चार मन्त्रीको नाम, को को छन् मन्त्रीको सूचीमा ?

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, १३ : १०
माओवादीले टुङ्ग्यायो बाँकी चार मन्त्रीको नाम, को को छन् मन्त्रीको सूचीमा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा जानेको नाम टुङ्गो लगाएको छ । स्रोतका अनुसार पार्टीले पाउने बाँकी चार मन्त्रीको नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बुझाएका छन ।

बताइएअनुसार स्थायी कमिटी सदस्यद्वय हरिबोल गजुरेल र देवेन्द्र पौडेल प्रचण्डको रोजाइमा परेका छन । त्यस्तै, समानुपातिक सांसद अञ्जना बिसंखे र बाँकेका महेश्वर गहतराजको नाम प्रधानमन्त्रीको हातमा परेको छ । माओवादीबाट यसअघि पम्फा भुसाल ऊर्जा र जनार्दन शर्मा अर्थमन्त्री बनिसकेका छन् ।गठबन्धनमा काँग्रेसले ७, माओवादी,नेकपा एकीकृत समाजवादी र जसपाले ६–६ मन्त्री लिने सहमति भएको बुझिएको छ । सोहीअनुसार माओवादीले चार मन्त्रीको नाम टुङ्गो लगाएको हो । माओवादीको स्थायी कमिटी बैठकले यसअघि नै मन्त्रीको नाममा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

माओवादीमा केही नेताले पटक–पटक मन्त्री बन्ने अवसर पाउँदा अन्य नेतामाथि अन्याय भएको भन्दै नेतृत्वको आलोचना भइरहेका बेला यसपटक भने तीन जना नयाँ अनुहार मन्त्रिपरिषदमा देखिने भएका छन् । शर्मा,भुसाल र गजुरेल पटक–पटक मन्त्री बनिसकेका छन् भने पौडेल, विशंखे र गहतराज पहिलोपटक सिंहदरबार छिर्न लागेका हुन् ।माओवादीमा भूगोल, समानुपातिक र नयाँ तथा अनुभवीलाई समेटेर मन्त्रिपरिषदमा पठाउनुपर्नेमा नेताहरुले जोड दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस