मुद्दा मिलाउन तीन लाख मागेको आरोपमा कानून व्यवसायी  पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १२ असोज २०७८, ११ : ५५
मुद्दा मिलाउन तीन लाख मागेको आरोपमा कानून व्यवसायी  पक्राउ

चितवन । ठगी मुद्दामा चितवन प्रहरीले एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । प्रहरीमा उजुरी परेपछि कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो ।

प्रहरीमा परेको उजुरी मिलाइदिन्छु भनी  आठ जनासँग जनही तीन लाख माग गरेपछि उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । भरतपुर महानगरपालिका–३ बस्ने ४१ वर्षीय राहुल गुप्ताले ठगी उद्योगमा जाहेरी दिएका हुन् । सोपश्चात् देवकोटालाई पक्राउ गरिएको सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘राहुल गुप्तासमेतका आठ जनाले झुटो विवरण पेश गरी नेपाली लिएको हुँदा निजलाई समेत कारबाही गरी पाऊँ भनी भारत घर भएका सतिशकुमारले यस कार्यालयमा जाहेरी पेश गरेकामा मुद्दा मिलाइदिन्छु भनी रकम माग गरेपछि पक्राउ गरिएको हो ।’

प्रहरीले देवकोटालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२१ को दफा २४९ ठगी गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस