आइपीएल: दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराउदै बेंगलोर विजयी

आइतबार, ०९ बैशाख २०७५, ०८ : ३९
आइपीएल: दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराउदै बेंगलोर विजयी

इण्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) मा रोयल्स च्यालेन्जर्स बेंगलोरले दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराउदै बेंगलोरले दोस्रो जित हात पारेको हो । एम चिन्नास्वामी स्टेडियममा दिल्लीले दिएको १७५ रनको लक्ष्य बेंगलोरले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । बेंगलोरको जितमा एबी डी भिलियर्स अविजित ९० रनको शानदार पारी खेले । उनले ३९ बलमा १० चौका ५ छक्का प्रहार गरेका थिए ।
यस्तै घरेलु टोलीका लागि कप्तान विराट कोहलीले ३० तथा क्विनटन डी ककले १८, मन्दिप सिंहले अविजित १७ र कोरी एण्डरसनले १५ रन जोडे । दिल्लीका ग्लेन म्याक्सवेल र ट्रेन्ट बोल्टले समान १ – १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो । दिल्लीका रिशाब पन्तले ८५ तथा श्रेयस इयरले ५२ रनको अर्धशतकीय पारी खेले । यस्तै राहुल टेवाटियाले १३ रन बनाए । बेंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।
घरेलु मैदानमा दिल्लीलाई हराएसँगै बेंगलोर लिगको पाँचौ स्थानमा उक्लिएको छ । बेंगलोरले ५ खेलबाट ४ अंक जोडेको छ । जारी सिजन खराब प्रदर्शनबाट गुज्रिरहेको दिल्ली ५ खेलबाट २ अंक जोडेर पुछारमा रहेको छ ।

आइपीएलको शीर्ष स्थानमा किंग्स इलाभेन पन्जाब रहेको छ ।  शनिबार कोलकत्ता नाइट राइडर्सलाई हराएको पन्जाबले ५ खेलबाट ८ अंक जोडेको छ । समान ६ – ६ अंक जोडेपनि नेट रन रेटको आधारमा चेन्नई सुपर किंग्स,कोलकत्ता र सनराईजर्स हैदरवाद क्रमशः दोस्रो देखी चौथो स्थानमा रहेका छन् । -एजेन्सी       

प्रतिक्रिया दिनुहोस