चीनबाट फर्केका विद्यार्थीलाई पुनः अध्ययनका लागि जाने व्यवस्था मिलाउन निर्देशन

सफल खबर संवाददाता

आइतबार, १० असोज २०७८, १८ : ००
चीनबाट फर्केका विद्यार्थीलाई पुनः अध्ययनका लागि जाने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । संसदीय समितिले अलपत्र परेका विद्यार्थीलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले कोरोनाका कारण चीनबाट फर्किएका विद्यार्थीलाई तत्काल कूटनीतिक पहल गरी अध्ययनको लागि चीन पठाउने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर कूटनीतिक पहल गरी अलपत्र परेका हजारौं विद्यार्थीलाई अध्ययनका लागि चीन पठाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीमगरले जानकारी दिए ।

समितिका सदस्यहरुले चीनमा अध्ययनका लागि जान नपाएका विद्यार्थीको समस्या तत्काल समाधान गर्न मन्त्रालयलाई सचेत गराएका थिए । सांसद मानबहादुर विश्वकर्माले मेडिकल तथा इन्जिनियरिङ कलेजका विद्यार्थीको प्रयोगात्मक अभ्यास अनलाईनबाट हुने व्यवस्था खारेज गर्न सरकारसँग माग गरे । उनले अनलाइन कक्षामा हुने अभ्यासले दक्ष जनशक्ति निर्माण नहुने भएकाले सरकारले त्यस विषयलाई गम्भिरतापूर्वक लिनुपर्ने बताए ।

मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्सालले संसदीय समितिले दिएको निर्देशन अनुसार चीनमा अध्ययनका लागि जाने विद्यार्थीको आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जनाए ।सहसचिव लम्सालले सरकारले सम्बन्धित विश्वविद्यालयसँग बुझेर मात्रै विद्यार्थीलाई अध्ययनका लागि विभिन्न देशमा पठाउन अनुमति दिने गरेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस