भरतमोहनकी छोरी नेकपा एसबाट राजनीतिमा

सफल खबर संवाददाता

शनिबार, ०९ असोज २०७८, १९ : ४८
भरतमोहनकी छोरी नेकपा एसबाट राजनीतिमा

काठमाडौँ । वामपन्थी आन्दोलनका दिवंगत नेता भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा लागेकी छन् ।

लीमालाई नेकपा (एस) को वाग्मती प्रदेश कमिटी सदस्यका साथै अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । पार्टीमा विवाद उत्पन्न भएपछि केही समय सक्रिय राजनीतिमा नरहेको बताउने लीमाले आगामी दिनमा एकीकृत समाजवादी पार्टीबाट मुलुक र समाजका लागि योगदान गर्ने योजना रहेको जानकारी दिइन् ।

नेकपा (एस) मा लागेको बताउँदै उनले भनिन्, ‘म १८ वर्षदेखि नेकपा (एमाले) को संगठित सदस्य थिए । अनेमसंघमा पनि थिए। बीचमा पार्टीको राजनीति ठीक नभएकाले निश्क्रिय रहेर आफ्नो व्यवसाय नै गर्न लागेको थिए । अहिले एकीकृत समाजवादीको वाग्मती प्रदेश कमिटी सदस्य, अनेमसंघको केन्द्रीय सदस्य र आर्थिक विभागको पनि जिम्मेवारी दिइएको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको लिगेसीलाई अगाडि बढाउन आफू सक्षम रहेको बताउँदै लीमाले भनिन्, ‘मेरो ठूलो बुबा मनमोहन अधिकारी, बुबा भरतमोहन अधिकारीले छोडेको राजनीतिक लिगेसी र उहाँहरूले देश र समाजका लागि जीवनभर निष्ठापूर्वक गर्नुभएको योगदानलाई अगाडि बढाउँछु ।’
 

प्रतिक्रिया दिनुहोस