ओलीलाई प्रश्न : सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन किन भएन ?

सफल खबर संवाददाता

शुक्रबार, ०८ असोज २०७८, १६ : ३३
ओलीलाई प्रश्न : सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन किन भएन ?

काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयन नभएपछि विभिन्न ठाउँमा समस्याहरु उठ्न थालेको छ । केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिमका नेताहरूले १० बुँदे सहमति लागू नभएको भन्दै असन्तुष्टीसमेत पोखेका छन् ।

नेता भीम रावलनिकटका नेताहरुले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोखेका थिए । शुक्रबार बैठक शुरू भएलगत्तै झपट रावलले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन हुन नदिइएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

उपाध्यक्ष भीम रावल र अर्का नेता भानुभक्त जोशीले पनि १० बुँदे सहमति कार्यन्वयनमा असमानता देखिएको भन्दै समान कार्यान्वयनको लागि अध्यक्ष केपी शर्मा ओलीको जवाफ मागेका थिए । तीन नेताले १० बुँदेबारे प्रश्न राखेपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकलगत्तै स्थायी कमिटी बसेर सुदूरपश्चिममा देखिएको समस्या समाधान गर्ने आश्वासन दिएको एक केन्द्रीय सदस्यले बताए ।

आजको बैठक विधान मस्यौदा र विधान महाधिवेशनमा केन्द्रित रहेकाले यसमै छलफल गर्न भन्दै ओलीले लगत्तै स्थायी कमिटी बसेर रावलको मागको सम्वोधन गर्ने बताएका थिए । १० बुँदे सहमति सुदूरपश्चिममा लागू हुन सकेको छैन । उपाध्यक्ष रावलले आफू जेठ २ अघिको प्रदेश संयोजक रहेकाले सोही पदमा हुनुपर्ने बताएका छन् । तर, लेखराज भट्ट नेकपा एकता प्रक्रियाबाट आएकाले उनी इन्चार्ज छन् ।

भीम रावल, भानुभक्त जोशी र झपट रावल माधव नेपाल समूह छाडेर एमालेमा रहेका नेता हुन् । अर्कोतर्फ लेखराज भट्ट, कर्ण थापालगायतले १० बुँदे जस्ताको तस्तै लागू नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस