सरकारमा चाँडै सहभागी हुन दबाब झेल्दै जसपा अध्यक्ष उपेन्द्र यादव

पत्रपत्रिकाबाट

शुक्रबार, ०८ असोज २०७८, ०७ : ३६
सरकारमा चाँडै सहभागी हुन दबाब झेल्दै जसपा अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । सरकारमा जान ढिलो गरे पछि जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई पार्टीभित्रै दबाब परेको छ। जसले गर्दा उनी अहिले दोहोरो तनावमा परेका छन्। राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभई सरकारमा सरकारमा गए पार्टी फुट्ने डर छ। अर्कोतिर, सरकारमा जान ढिलो गरेपछि मन्त्रीका आकांक्षीहरूले दिनदिनै अध्यक्षलाई दबाब दिने गरेका छन्।

पुरानो राष्ट्रिय जनता पार्टी (राजपा) का ७ जना सांसद कित्ता परिवर्तन गरी उपेन्द्र यादवतिर लागेका छन्। तीमध्ये केहीलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका छन्। जसपाका एक नेता भन्छन्, ‘मन्त्री हुनकै लागि कित्ता परिवर्तन गरेका सांसदहरू मन्त्री हुन पाएनन् भने पार्टी फुटाउने अवस्था रहन्छ।

त्यसमा पनि जस जसलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका छन्, उनीहरू मन्त्री हुन पाएनन् भने यादवसँग चिढिने निश्चित छ। त्यसैले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा नजाने अडान यादवले लिएका छन्।

जसपाका पाँच सांसदले चाहनेबित्तिकै जसपा फुट्ने अवस्था छ। जसपामा २० सांसद छन्। पार्टी फुटाउन २० प्रशित पुर्‍याउन पाँचजना सांसद भए पुग्छ। मन्त्री हुन लबिङ गरिरहेका जसपाका नेताहरूले जतिसक्दो चाँडो सरकारमा जान अध्यक्षलाई दबाब दिने गरेका छन्।  पार्टीबाट कसलाई नेतृत्व गरेर पठाउने भन्ने विषयमा पनि पार्टीभित्रै विवाद छ। अध्यक्ष यादव आफैँ सरकारमा गए भने उनले नेतृत्व गर्नेछन्। तर, उनी गएनन् भने पार्टीबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव र महेन्द्र यादवले पार्टीबाट नेतृत्व गर्दै सरकारमा जान इच्छा देखाएका छन्।

संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले पार्टीबाट नेतृत्व गर्दै श्रेष्ठलाई सरकारमा पठाउन चाहेका छन्। रेणु यादव तथा महेन्द्र यादव दुवैले आफैंले नेतृत्व गर्न चाहेका छन्। यादवनिकट स्रोतका अनुसार उपप्रधानमन्त्री नपाए उनी सरकारमा जानेछैनन्। प्रधानमन्त्री देउवा भने सकेसम्म यसपटक उपप्रधानमन्त्री पद राख्ने पक्षमा छैनन्। यादवलाई उपप्रधानमन्त्री दिनेबित्तिकै अरू तीन उपप्रधानमन्त्री थप्नुपर्ने र यसबाट सरकार अलोकप्रिय हुने देउवाको बुझाइ छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस