वैशाखसम्म सबै नेपालीलाई खोप : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

विहीबार, ०७ असोज २०७८, १९ : ४२
वैशाखसम्म सबै नेपालीलाई खोप : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै देउवाले कोरोना महामारीको खतरनाक रूप नेपालमा आएको तर यसबारे अझै कतिपय मानिसलाई जानकारी नभएकोमा दुःख व्यक्त गरेका हुन्

 देउवाले भने, ‘मैले भ्याक्सिन भ्याक्सिन भनेको थिएँ, नेपालभर नै छिटै नै भ्याक्सिनको व्यवस्था पूरा हुँदैछ, मलाई लाग्छ वैशाखसम्म सबैलाई भ्याक्सिन लगाइसकिने हाम्रो योजना छ । अहिले कोभिडको पनि खतरनाक रूप नेपालमा आएको छ, धेरै मान्छेहरू मरेका छन्, कतिपयलाई कति खतरनाक छ भन्ने कुरो ज्ञान पनि छैन, यसलाई कम गर्नको लागि हामी अवश्य नै काम गर्नेछौँ ।’
प्रधानमन्त्री देउवाले नेपालको पत्रकारिता जगतलाई सुरक्षित गर्दै थप विकसित, व्यावसायिक र समृद्ध बनाउने कार्यमा लाग्न सरकार तयार रहेको बताए ।

उनले नेपालमा प्रेस स्वतन्त्रता रहेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमहरू खोजमूलक र सत्य तथ्यमा आधारित भएर स्वतन्त्र रहनुपर्ने सरकारको चाहना रहेको बताए । प्रधानमन्त्री देउवाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता विचार स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगतलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कार्यमा सरकार आवश्यक सहयोग गर्न तत्पर रहेको समेत बताए । उनले  नेपाल टेलिभिजन सरकारको टेलिभिजन भएकोले विभिन्न सांस्कृतिक,ऐतिहासिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भन्दै उमेर समूहलाई ध्यानमा राखेर कार्यक्रम ल्याउनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस