महाधिवेशन मंसिरमै हुनेमा शंका छ : गगन थापा

सफल खबर संवाददाता

विहीबार, ०७ असोज २०७८, १८ : ०२
महाधिवेशन मंसिरमै हुनेमा शंका छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४औं महाधिवेशन समयमै हुनेमा शंका व्यक्त गरेका छन। बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले पार्टीको १४औं महाधिवेशनको सम्बन्धमा अन्योलता बढ्दै गएको बताए। बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनको भनाइ छ ।

मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरामा ढुक्क हुन नसकिएको उनले बताए। पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र दिएको जिम्मेवारी नेताहरूले पूरा नगरी जवाफदेहिताविनाको राजनीति गरिएको उनले टिप्पणी गरे । जिम्मेवारी पाएका नेताहरू जवाफदेही नहुँदा पार्टीमा मनलाग्दी बढेको उनको भनाइ छ ।

‘महाधिवेशनको बाँकी १३ जिल्लाको सदस्यताका कुराहरू टुंग्याउने कुरा तत्काल आजभोलि गरिए र तिथिमिति सार्दै जाने हो भने थप अन्योल हुँदै जान्छ,’ उनले भने, ‘मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरा ढुक्क भएर भन्नसक्ने अवस्थामा म छैन, महाधिवेशनको तिथिमिति सार्ने कुरा अब पार्टीको नेताहरुले आउन दिनुहुन्न ।’

नेता थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसदसँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताए। संसदप्रति ओलीको घृणा सिंगो नेकपा एमालेमा पनि पुगेको भन्दै उनले एमालेले संसदीय मर्यादामा बस्न नसकेको बताए ।

उनले भने, ‘केपी शर्मा ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्न । उहाले आफ्नो कार्यकालभरी संसदलाई हेप्नुभो । संसदलाई वेवास्ता गर्नुभो । पटक–पटक भंग गर्नुभयो । अहिले संसद पुर्नस्थापित भइसकेपछि उहाँलाई संसदसँग यति घृणा लाग्छकी यो संसदलाई उहाँले पंगु बनाउनुभएको छ ।’

नेता थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरूले बजेटको बिषयमा बोल्न नपाएको उल्लेख गरे। एमालेको अवरोधले सांसदहरूले संसदमा आफ्नो भुमिका समेत निर्वाह गर्न नपाएको बताए । एमालेको प्रस्तुतिले संसदीय पद्धतीको गरिमा राख्न नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस