पत्रकार थापाले  गरे पदक नलिने घोषणा

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, ११ : १९
पत्रकार थापाले  गरे पदक नलिने घोषणा

काठमाडौं । इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापाले संविधान दिवस २०७८ को अवसरमा सरकारले प्रदान गर्ने पदक अस्वीकार गरेका छन् । 

थापाले सामाजिक सन्जालमार्फत् पदक अस्वीकार गरेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’

विगतमा आफूलाई पदकका लागि पटकपटक सोधिएको र अस्वीकार गरेको भन्दै उनले यसपालि भने सोध्दै नसोधी पदक पाउनेहरुको सूचीमा आफ्नो पनि नाम आएको उल्लेख गरेका छन् ।

उनले पदक वितरणको विधि र पारदर्शीतामा खुला बहस हुनुपर्ने पनि जनाएका छन् । थापा लेख्छन्, ‘राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।’

सरकारले संविधान दिवस २०७८ को अवसरमा ९ सयभन्दा बढीलाई पदक दिने निर्णय गरेको छ । यसअघि कार्टुनिष्ट रविन सायमीले सरकारबाट पदक नलिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस