छोटो समय भए पनि राम्रो काम गरेर देखाउने छौँ : मुख्यमन्त्री शाक्य

सफल खबर संवाददाता

शनिबार, ०२ असोज २०७८, १७ : ०८
छोटो समय भए पनि राम्रो काम गरेर देखाउने छौँ : मुख्यमन्त्री शाक्य

सिन्धुली । बागमती प्रदेशकी मुख्यमन्त्री अस्टलक्ष्मी शाक्यले छोटो समयमा राम्रो काम गरेर देखाउने ढंगले आफ्नो नेतृत्वको सरकार लागिपरेको  बताएकी छन् ।

शनिबार एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको बधाई कार्यक्रममा मुख्यमन्त्री शाक्यले पार्टी फुटेका कारण आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेकाले छोटो समय भए पनि राम्रो काम गरेर देखाउने बताएकी हुन् ।

‘हामीले विश्वासको मत लिनुपर्ने छ, हामी धेरै समय नरहन पनि सक्छौं, तर अहिले हामीले आफ्नो व्यक्तिगतभन्दा पनि आम जनताका कामलाई पहिलो प्राथमिकतारामा राखेर काम गरिरहेका छौं,’ उनले भनिन् । 

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकोे उनको भनाइ छ । ‘हामीले स्वास्थ्यलाई विषेश प्राथमिकतामा राखेर काम सुरु गरेका छौ । हामी काम नगर्न गन्ती गरेर बस्दैनौँ । छोटो समय भए पनि राम्रो काम गरेर देखाउँछौ,’ मुख्यमन्त्री शाक्यले भनिन् ।  

पार्टी फुटाएर शक्ति प्राप्त नहुने भन्दै उनले एमाले एकढिक्का हुनुपर्नेमा जोड दिइन् । ‘पाटी फुटले शक्ति पैदा हुँदैन । पार्टी एकजुट भयो भने बलियो हुन्छ । त्यसकारण पार्टीलाई बलियो बनाउनतिर लागौँ । फुटाउने काम नगरौँ । चित नबुझेको कुरा आमनेसामने राखेर छलफल गरौँ । पार्टीमा व्यक्ति ठूलो हुँदैन, पार्टीमा विचार, विधिसम्मत र सामूहिक नेतृत्व ठूलो हुन्छ,’ उनले भनिन् । 

प्रतिक्रिया दिनुहोस