प्रदेश २ सरकारले संविधान दिवस नमनाउने

सफल खबर संवाददाता

शनिबार, ०२ असोज २०७८, १२ : ०२
प्रदेश २ सरकारले संविधान दिवस नमनाउने

जनकपुरधाम । हरेक वर्ष असोज ३ गते मनाइने संविधान दिवस प्रदेश २ सरकारले भने मनाउने गरेको छैन । यसपालि पनि प्रदेश २ सरकारले संविधान दिवस नमनाउने जनाएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवस मनाउने बेला नभएको बताएका छन् । उनले संविधान दिवस मनाउने समय नभएको भन्दै यसपालि पनि आफ्नो सरकारले उक्त दिवस नमनाउने बताएका हुन् ।

संविधान जारी गरेको दिन मदेशकेन्द्रित दलहरुले ब्लाक आउट गरेका थिए । यही संविधान अन्तरगत रहेर प्रदेश सरकार चलिरहेको भए पनि संविधान दिवस चाहिँ नमान्ने मुख्यमन्त्री राउतले बताए । उनका अनुसार वर्तमान संविधान संशोधन भएर मधेसका मागहरु समेटिएमा मात्रै सविधान दिवस मनाउनु उपयुक्त हुनेछ ।

अहिले प्रदेश २ सरकारमा विशुद्ध मधेसी दलहरु मात्र नभएर कांग्रेस तथा माओवादी केन्द्र समेत सामेल छ । तापनि संविधान दिवसबारे मौन बस्ने प्रदेश सरकारका मन्त्रीहरू बताउँछन् । उनीहरूका अनुसार संविधान दिवसको विरोध या समर्थन केही नगरेर मौन बस्ने सरकारको तयारी रहेको छ ।

२०७२ असोज ३ गते संविधानसभाबाट निर्मित नेपालको संविधान तत्कालीन राष्ट्रपित रामबरण यादवद्वारा जारी गरिएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष सरकार तथा कर्मचारी प्रशासनले असोज ३ गते संविधान दिवस एवं राष्ट्रिय दिवस मनाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस